हरियालीको हाँसो, मौनताको संगीत अनि बेदधुनीको जलधारामा बगेको सभ्यता: बेदकोटको बुलबुली

रामदत्त मिश्र 

सुदूरपश्चिम नेपाल कञ्चनपुर जिल्लाको प्राकृतिक आँगनभित्र सुसेलिएको एउटा सुन्दर गहना हो बेदकोट ताल। यसलाई केवल पानीको सतह वा सौन्दर्यको बाह्य आवरणबाट बुझ्न सकिँदैन। यो ताल आफैंमा प्रकृतिको निर्मलता, धार्मिकताको गाम्भीर्य र पर्यटनको भविष्य समेटिएको एउटा जीवित इतिहास हो। यसको सुन्दरता हेर्दा आँखा तृप्त हुन्छ, कथा सुन्दा मन रोमाञ्चित हुन्छ र वरिपरि फैलिएको मौनता भित्र एक गहिरो आध्यात्मिक स्पन्दन अनुभूत हुन्छ।

बेदकोट ताल, बेदकोट नगरपालिकाको उत्तरतर्फ, चुरे पर्वतको फेदीमा अवस्थित छ। हराभरा बनजंगलले घेरिएको, सुगन्धित हावाले सजिएको र चराचुरुङ्गीहरूको मधुर आवाजले सजिएको यो ताल प्रकृतिको सौन्दर्यको मूर्त रुप हो। ताल वरिपरि रहेका रुखहरू यति गहिरो हरियालीमा डुबेका छन् कि लाग्छ, सिंगो वनले ताललाई आफ्नो काखमा लुकाएको हो। साना साना बोटबिरुवाहरू, मौसमी फूलहरूको रंग, बग्ने बतासको चाल र तालमा परेका आकाशका छायाँहरूले यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ।

तालमा हरेक बिहानको सूर्यले सुनौलो आभा छर्दछ। त्यस बेला पानीको सतहमा प्रकाशको नाच देखिन्छ र साँझमा जब चराहरू बास बस्न फर्किन्छन्, त्यतिबेला यो ताल शान्तिको गीत गाइरहेको जस्तो लाग्छ।

बेदकोट ताल केवल प्राकृतिक सम्पदा मात्रै होइन, यो एक पवित्र धार्मिक स्थल पनि हो। तालको छेउमै रहेको शिव मन्दिरमा दैनिक पूजाआजा, विशेष तिथिहरूमा विशेष धार्मिक अनुष्ठान र विवाह, ब्रतबन्ध जस्ता संस्कारहरूको आयोजनाले यसको धार्मिक महत्व झनै उच्च बनाएको छ। यो मन्दिर आस्थाको धरोहर हो, जहाँ पुग्दा श्रद्धा र निष्ठाले मन भरिन्छ।

स्थानिय बुढापाकाहरूको विश्वास अनुसार पाण्डवहरूले वनवासको क्रममा यो क्षेत्रमा बास बस्दा ‘बेद धुनी’ जगाएका थिए, जसकै आधारमा यस क्षेत्रको नाम ‘बेदकोट’ रहन गएको हो। यसले तालको नाममा रहेको ‘बेद’ शब्दलाई अझ गहिरो धार्मिक र ऐतिहासिक मर्म प्रदान गर्दछ। अझ रोचक कुरा त के छ भने ताल वरपर विशाल रुखहरू रहे तापनि कहिल्यै तालमा पात झर्दैन भन्ने जनविश्वास रहेको छ। यो रहस्यकै विषय बनेको छ, तर स्थानीयहरू यसलाई देवी–देवताको चमत्कार मान्दछन्। प्रकृतिको यस्तो अनौठो व्यवहार श्रद्धाको चस्माले हेर्दा अझ पवित्र लाग्दछ।

बाह्य दुनियाँको कोलाहलबाट टाढा, शान्त र एकान्त वातावरण खोज्नेहरूका लागि बेदकोट ताल एक उत्कृष्ट गन्तव्य बनेको छ। दैनिक दर्जनौं आन्तरिक पर्यटकहरू तथा सीमावर्ती भारतीय सहरहरू जस्तै: बनवासा, टनकपुर, खटिमा, चम्पावत आदिबाट समेत पर्यटकहरू यहाँ पुग्ने गर्छन्। विशेषगरी पूर्व–पश्चिम महेन्द्रराजमार्गको दैजी चौराहाबाट करिब १३ किलोमिटर उत्तरतर्फको सहज पहुँचले यो स्थानलाई सहज यात्राको गन्तव्य बनाएको छ।

धार्मिक र सांस्कृतिक महत्त्वका कारण श्रद्धालुहरूको आगमन अझै बढ्दो छ। ताल छेउमा विहान-बेलुकी ध्यान गर्न आउने मानिसहरू, फोटो खिच्न व्यस्त युवा, तथा वरिपरि घुम्न आएका परिवारहरूको उपस्थिति देख्दा यो तालले केवल प्रकृति नै होइन, समाजलाई पनि समेटेको स्पष्ट देखिन्छ।

बेदकोट ताल केवल अवलोकनको विषय होइन; यो बेदकोट नगरपालिकाको सामाजिक, आर्थिक र पर्यटकीय विकासको मूल आधार बन्न सक्ने क्षमता राख्दछ। ताल वरपरको बनजंगलले जलवायु सन्तुलन कायम राख्नुका साथै बहुमूल्य वन पैदावार प्रदान गर्दछ। यदि व्यवस्थित ढंगले ताल क्षेत्रको संरक्षण, सरसफाइ, गाइडिङ सेवा, होमस्टे, स्थानीय उत्पादनको बजारकरण, सांस्कृतिक कार्यक्रमको आयोजना आदिलाई प्रवर्द्धन गर्न सकियो भने यसले रोजगारको सिर्जना मात्र होइन, आर्थिक समृद्धिमा ठुलो योगदान पुर्‍याउन सक्छ।

बेदकोट तालमा पुग्दा त्यहाँको मौनता आफैँमा एक प्रकारको संगीत जस्तो लाग्छ। चराचुरुङ्गीको चिरबिर आवाज, पातहरुमा खेल्ने हावाको सुस्केरा, अनि पानीमा पर्ने सूर्यको किरण–यी सबैले एउटा सुन्दर ध्वनिमालिका रच्दछ। ताल क्षेत्र बाह्य कोलाहलदेखि टाढा रहेकोले यहाँ एकान्त चाहने पर्यटकहरूका लागि उपयुक्त गन्तव्य बनिरहेको छ। यहाँको निसर्गिक वातावरणले मानसिक शान्ति दिन्छ, आत्मीयता जगाउँछ र जीवनलाई केही समय सुस्ताएर अवलोकन गर्न प्रेरित गर्छ।

बेदकोट तालको एउटा रोचक विशेषता छ – वरपर रुखहरू प्रशस्तै भए पनि तालमा कहिल्यै पात नपर्ने जनविश्वास छ। यो केवल जैविक चमत्कार मात्र नभई श्रद्धाको प्रतीक पनि हो। स्थानीयहरू विश्वास गर्छन् कि देवी–देवताको शक्ति यति प्रभावशाली छ कि ती पातहरू तालमा झर्दैनन्। यो विश्वास तालको धार्मिक महत्त्व र अद्वितीयतासँग गाँसिएको छ, जसले बेदकोट ताललाई अन्य तालभन्दा पृथक बनाउँछ।

ताल केवल प्रकृति र धार्मिकताको संगम मात्र होइन, यो स्मृतिको केन्द्र पनि हो। युगौंदेखि यहाँको माटोमा गाथाहरू उमारिएका छन्। ऋषिमुनिहरूको तपोभूमिका रूपमा रहेको यो क्षेत्रले साहित्यिक चेतना बोकेको आभास दिन्छ। पानीको सतहमा चन्द्रमाको छायाँ हेर्दा, वृक्षहरूको छायाँमा बसेर चराहरूको धुन सुन्दा, ताल नजिकैको शान्त गुफाजस्तो शून्यता भित्र डुब्दा मनमा एक किसिमको कविता आफैं जन्मिन थाल्छ।

बेदकोट ताल केवल एउटा स्थल होइन यो एक अनुभव हो। यो अनुभव प्रेमको छ, श्रद्धाको छ, प्रकृतिको छ र भविष्यको पनि हो। यसको संरक्षण गर्नु केवल बेदकोट नगरपालिकाको कर्तव्य होइन, सिंगो मुलुकको दायित्व हो। प्रकृतिको वरदान, धार्मिकताको प्रकाशस्तम्भ र पर्यटनको सम्भावनाले भरिपूर्ण बेदकोट ताल साँचो अर्थमा ‘हिमाल, पहाड, तराई’को साङ्गठिक सुन्दरता हो। हामीले यसलाई जोगाउनु, बुझ्नु र भावी पुस्तालाई हस्तान्तरण गर्नु जरुरी छ।

बेदकोट ताल बोल्दैन तर यसको मौनता भित्र हजारौं कथाहरू छन्, जुन सुन्न सक्ने कान, महसुस गर्न सक्ने मन र बचाउन सक्ने संकल्प आवश्यक छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्