दार्चुला – बुढी पोल्ने भनेपछि सबैलाइ अचम्म लाग्न सक्छ तर सुदूरपश्चिमका पहाडी जिल्लामा भने पर्वको रुपमा लिइदैँ आएको छ । यो पर्व हरेक वर्य अशोज १ गते मनाइन्छ । परम्परागत किंवदन्तीअनुसार भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पूतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पूतनाको शव दहन गरेको कथन छ । सोहि विजय उत्सवका रूपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पूतनालाई पोल्ने गरिएको छ ।
द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने राक्षसी पूतनालाई भगवान् श्रीकृष्ण दूध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुसीयालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाउने गरिन्छ । एउटा भाद्र १ गते स्थापना गरिन्छ भने एउटा आजै विहान घर नजिककै गाइवस्तुहरुको गोबर संकलन गर्ने स्थानमा राखिन्छ । घरमा राखिने सानो बुढी र गाउँको कुनै मुख्य स्थान, अग्लो स्थान अर्थात डाँडामा राखिने बुढीलाइ ठुलो बुढी भनिन्छ ।
घरमा राखिने बुढी गाइ, गोरुको संख्याको आधारमा राखिन्छ र यो व्यक्तिगत रुपमा राखिन्छ तर ठुलो बुढी भने सामुहिक रुपमा राख्ने गरिन्छ । यी दुवैलाइ साँझपख सामुहिक रुपमा जलाउने गरिन्छ । यसरी जलाइसकेपछि डढेको कालो मोसोलाइ टीकाको रुपमा लगाउने गरिन्छ । यसरी सामुहिक रुपमा बुढीलाइ होच्याउने गाली गर्ने लगायतका शब्दहरु सहित आगोको मुस्लो वरिपरि घुम्ने गर्दछन् यसरी जलाइ सकेपछि टीका लिएर घर फर्किन्छन यसरी घर फर्किदा दगुर्ने र सबैभन्दा पछी पुग्नेलाइ लुतो लाग्ने भन्ने विश्वासका साथ दाैडको प्रतिस्पर्धा नै चल्ने गर्दछन । यसरी सामुहिक रुपमा परम्पराग रुपमा मनाइदै आएका चाडपर्वहरु पछिल्लो समय लोप हुदैँ गइरहेकोप्रति वुढापाखाहरु चिन्ता व्यक्त गरिरहेका छन् ।