काठमाडौँ- पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । यही प्रणालीका कारण काठमाडौं उपत्यकासहित केही स्थानमा मंगलबार बिहान वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहनेछ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान छ ।
लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्यस्तै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।






