‘ब्रम्हदेब–टनकपुर’लाई धार्मिक नाकाको रुपमा संचालन गराईनु पर्ने माग

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको उत्तरी क्षेत्रमा अवस्थित ब्रम्हदेबमा भारतको टनकपुर पुलबाट सवारी आवागमनलाई सहज गरिदिन स्थानियहरुले माग गरेका छन् । साथै ब्रम्हदेव टनकपुरलाई धार्मिक नाकाकै रुपमा संचालन गराउनुपर्नेमा जोडदिएका छन् । आइतबार सिद्धनाथ मन्दिर संरक्षण समितिले आयोजना गरेको छलफल कार्यक्रममा कञ्चनपुरका सरोकारवालाले ‘टनकपुर–ब्रम्हदेब’लाई धार्मिक नाकाकै रुपमा संचालनमा ल्याउनु पर्ने बताएका छन् ।

विगत सदियौदेखी चलिआईरहेको परम्परा अनुरुप भारत उत्तराखण्ड चम्पावत जिल्लाको पुर्णागिरी मन्दिर र नेपाल सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको सिद्धनाथ मन्दिरबिच धार्मिक आश्था एवम महत्वपुर्ण सम्बन्ध स्थापित भएको किंवदन्ती रहेको स्थानियले बताए । पुर्णागिरीमा दर्शन गरिसकेपछि सिद्धनाथ मन्दिरको दर्शन गर्न अनिवार्य भएको नत्र पुजा सफल नहुने भन्ने किंवदन्ती अनुसार भारतिय तिर्थालुहरु पनि सिद्धनाथ मन्दिरमा आउने गरेका छन् । तर पैदल यात्री र २ पाङग्रे सवारी साधनलाई मात्र नेपाल आउन दिने प्रावधानले कतिपय तिर्थालुहरु फर्किएर जाने गरेको सिद्धनाथ मन्दिर संरक्षण समितीका अध्यक्ष नारायण सिंह महताले जानकारी दिए ।

अहिले ब्रम्हदेव बजारमा खासै व्यापार पनि नहुने र भारतिय पर्यटकहरु पनि नआउने भएपछि अहिले स्थानिय वयापारीहरु मारमा परेको उनले बताए । पुर्णागिरी–सिद्धनाथलाई धार्मिक सम्बन्ध विस्तार गर्न एवम व्यापार व्यवसाय बढाउन सिधै जोड्नका लागि टनकपुर पुल संचालन हुनुपर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका निर्वतमान उपाध्यक्ष माधव जोशीले बताए । टनकपुर पुल संचालन भए दुवै मन्दिर तर्फ दर्शनार्थी सहजै आवत जावत गर्न सक्ने र त्यसका लागि भारत–नेपालका स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष गगनसिंह कार्कीले हरेक बर्ष पुर्णागिरी मेला, नवरात्रदेखि अन्य धार्मिक तिथिमितिमा नेपाल र भारत दुवै देशका दर्शनार्थी दुवैतर्फ आवत जावत गर्ने भएकाले धार्मिक नाका विस्तार गर्नुपर्ने बताए । ‘ब्रम्हेदब–टनकपुरलाई धार्मिक नाकाकै रुपमा विकसित गराउन आफ्नो तर्फबाट पुर्ण पहल गर्छु, ‘उनले भने, ‘यसमा प्रदेश र संघीय सरकारको समेत साथ सर्मथन सहयोग चाहिन्छ ।’ उनले सिमामा हुने विवादमा बारम्बार आफुले प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी दिने गरेको तर समस्या समाधान नहुने, सुनुवाई नहुने र यताको समस्यालाई भारतिय एसएसबीले नमान्ने गरेको उनले बताए ।

यो समस्या समाधान गर्न सबै पक्षले एकजुट हुनुपर्ने एक आवाज भयो भने मात्रै समस्याको समाधान हुन सक्ने वडा अध्यक्ष कार्कीले बताए । बम्हदेब बजार व्यवस्थापन समितिका उपाध्यक्ष शंकर विष्टले दुवै देशको बस्तुस्थिति अनुरुप सरकारले आवश्यक पहलकदमी चाल्नुपर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले आफनो टिमले विगत देखी नै यो विषयमा छलफल गरिरहेको भएपनि भारतको तर्फबाट बिभिन्न बहाना मात्रै गर्ने, यता नेपालबाट पनि समस्या देखाएर काम हुन नदिने बताए ।

नेपालको ब्रम्हदेब उत्तरमा चिन र दक्षिणमा भारतसंग जोड्ने मुलबिन्दु भएकाले दुवै तर्फका मन्दिरमा आउने दर्शनार्थीलाई धार्मिक पर्यटककै रुपमा अघि बढाएर धार्मिक नाका विस्तार गर्नुपर्ने बताए । भारतको पुर्णागिरी मन्दिरमा आउने पर्यटक स्वतः सिद्धनाथ मन्दिरमा दर्शन गर्न आउँने उनले भने, उक्त क्षेत्रलाई धार्मिक नाकाकै रुपमा विकसित गर्न मान्यता दिलाएर संचालनका लागि दुवै देशका सरकार अग्रसर हुनुपर्नेमा जोडदिए ।

उक्त कार्यक्रममा ब्रह्मदेब बजारका उद्यमी, व्यवसायी सहित सरोकारवाला, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, संघका महासचिव खगेश्वर प्रसाद बोहरा, कार्य समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश महासंघका सल्लाहकार कृष्ण प्रसाद पाठक, कार्यसमिति सदस्य गोपाल सिंह वुडापाल, संघका पूर्व वाणिज्य उपाध्यक्ष माधव प्रसाद जोशी, कार्यकारी अधिकृत हेमराज भट्ट लगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्