प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने विपक्षीको अडान

 

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म प्रतिनिधिसभा चल्न नदिने अडान दोहोर्‍याएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय, शून्य समय र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्नुअघि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले बोल्न समय दिएपछि विपक्षी सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन अवरुद्ध रहने बताएका हुन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक र कानुनी व्यवस्थाअनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने धारणा राखे ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान र कानुनको पालना गर्दै अगाडि बढ्नुपर्ने बताए । प्रधानमन्त्री केही समयका लागि भए पनि संसद्मा आएर रोष्ट्रममा उभिएर धारणा राख्नुपर्ने उनको भनाइ थियो ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले अहिलेको घटनाले इतिहासमा कस्तो नजिर स्थापित गर्ने भन्ने विषय महत्त्वपूर्ण रहेको बताए । उनले आगामी पुस्तालाई कस्तो सन्देश दिने भन्नेबारे सबैले सोच्नुपर्ने उल्लेख गरे ।

संख्याको दम्भ स्थायी नहुने भन्दै उनले पाँच वर्षपछि फेरि चुनाव भएर नयाँ समीकरण बन्न सक्ने बताए ।

‘जुन दिनसम्म प्रधानमन्त्री संसद्मा आएर सांसदका प्रश्नको जवाफ दिन तयार हुनुहुन्न, त्यस दिनसम्म हाम्रो विरोध जारी रहन्छ,’ उनले भने ।

राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको उपस्थितिका लागि सत्तारुढ दलले पनि पहल लिनुपर्ने बताइन् । ‘जनप्रतिनिधिसँग किन संवाद गर्न चाहनुहुन्न ?’ भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्