काठमाडौं । हिजो घटेको शेयर बजार आज सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ दशमलव ९९ अङ्कले बढेर २ हजार ७८२ दशमलव १० विन्दुमा पुगेको छ ।
आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूह बाहेक अधिकांश समूहका सूचक सामान्य बढेका छन् । कारोबारमा १५१ वटा कम्पनीका शेयर मूल्य बढ्दा १०५ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ भने बुङ्गल हाइड्रोको शेयर १४ दशमलव ८८ प्रतिशतले उकालो लागेको छ । बजार सामान्य बढेको दिन सानिमा बैंकको डिबेन्चर भने साढे ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएकोमा आज ३५४ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ६ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम झन्डै एक महिनायताकै उच्च हो । यसअघि गएको वैशाख १५ गते ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यसयता कारोबार रकम ६ अर्ब रुपैयाँ नाघ्न सकेको थिएन ।






