पुरानै संसद् हलबाट बजेट ल्याउने तयारी

काठमाडौं । संघीय संसद् सचिवालयले हाल प्रतिनिधिसभाको बैठक बस्दै आएको बहुउद्देश्यीय हलबाटै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

नयाँ संसद् भवनको हल निर्माण तथा फिनिसिङको काम पूरा नभएकाले पुरानै हलबाट बजेट ल्याउने तयारी गरिएको हो ।

बजेट प्रस्तुत गर्नुअघि गरिने रिहर्सल पनि यही बहुउद्देश्यीय हलमा बिहीबार गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले नयाँ संसद् भवनको हलमा अझै काम भइरहेकाले हाल बैठक सञ्चालन भइरहेकै हलमा संयुक्त बैठक राख्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, “नयाँ संसद् भवनको हलमा १५ जेठमा संयुक्त बैठक बस्ने र त्यहीँबाट सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने गरी पूर्वतयारी हुन सकेको देखिएन । यो सुनिश्चित पनि हुन नसकेको सन्दर्भमा हाल बैठक सञ्चालन भइरहेकै बहुउद्देश्यीय हलमा १५ जेठको संयुक्त बैठक बस्नुपर्ने बाध्यता रहेको छ ।”

संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको छ भने निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको छ ।

सुरुमा गरिएको सम्झौताअनुसार संसद् भवन निर्माण १६ असोज २०७९ भित्र सम्पन्न हुनुपर्ने थियो । २०७९ को निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक नयाँ भवनमा राख्ने लक्ष्यसहित १६ असोज २०७६ मा निर्माण सम्झौता गरिएको थियो ।

नयाँ संसद् भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा गरेका थिए । त्यसको १६ दिनपछि ६ अर्ब ९२ करोड रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि पहिलो पटक ३० चैत २०७९ सम्म म्याद थप गरिएको थियो । त्यसपछि पनि निर्माण कार्य पूरा हुन नसकेपछि हालसम्म ६ पटक म्याद थप भइसकेको छ ।

पछिल्लो पटक ९० दिनको म्याद थप गरिएको थियो, जुन गत फागुनदेखि लागू भएको थियो । उक्त म्याद यही जेठमा सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्