सञ्चारकर्मी ममता भट्ट ‘क्रियाशील पत्रकारिता पुरस्कार’बाट सम्मानित

डडेल्धुरा- नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले १६औँ साधारण सभाको अवसरमा विभिन्न विधामा क्रियाशील पत्रकारहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । महासंघले रेडियो अमरगढीकी स्टेशन म्यानेजर तथा राष्ट्रिय समाचार समिति डडेल्धुरा संवाददाता ममता भट्टलाई ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो ।

एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय भट्टले महिला, बालबालिका तथा पछाडि पारिएका समुदायका आवाजलाई निरन्तर उठाउँदै आउनुभएको छ । सामाजिक सरोकारका विषयमा सक्रिय पत्रकारिता गर्दै आएकी उहाँ यसअघि पनि विभिन्न सम्मानबाट पुरस्कृत भइसक्नुभएको छ । त्यसैगरी गोरखापत्र डडेल्धुरा संवाददाता पुष्कर भण्डारीलाई ‘खोज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । तथ्यमा आधारित खोजमूलक पत्रकारितामार्फत महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उहाँलाई सम्मान गरिएको महासंघले जनाएको छ ।

यस्तै सिमाना न्युजका सहसम्पादक शेरबहादुर भण्डारीलाई ‘युवा सशक्त पुरस्कार’ प्रदान गरिएको छ । पत्रकारितामा युवाको सक्रिय सहभागिता र सिर्जनशील योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो । साधारण सभाकै अवसरमा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका संस्थापक बाबुराम श्रेष्ठलाई पनि विशेष सम्मान गरिएको थियो । जिल्लामा पत्रकारिताको संस्थागत विकास तथा पत्रकारिता क्षेत्रको आधार निर्माणमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको महासंघले जनाएको छ ।

कार्यक्रममा वक्ताहरूले निष्पक्ष, उत्तरदायी र जनमुखी पत्रकारिताको आवश्यकता औँल्याउँदै लोकतन्त्र सुदृढीकरणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्