काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले समर्थन मूल्य निर्धारण गरिएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले नेपाल-चीन जोड्ने चिलिमे-केरूङ विद्युत् प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले सहकारीमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।






