भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत सरकारको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणका लागि आउँदो जेठ १८ गते नयाँदिल्ली जाने भएका छन् ।

नेपाल–भारत सम्बन्धमा पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढिरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो । यद्यपि दुवै देशले भ्रमणबारे औपचारिक घोषणा गरेका छैनन् । नेपाल सरकारले समेत लामिछानेको भ्रमणबारे आफूलाई औपचारिक जानकारी नभएको जनाएको छ ।

चुनावपछि झण्डै दुईतिहाइ बहुमतसहित रास्वपाले वालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन गरेसँगै नेपाल–भारत सम्बन्ध र उच्चस्तरीय भ्रमणबारे चर्चा हुँदै आएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमण भने अहिलेसम्म टुंगो लागेको छैन ।

यसैबीच हुन लागेको लामिछानेको दिल्ली भ्रमणलाई भारतीय सञ्चारमाध्यमले पनि चासोका साथ हेरेका छन् । भ्रमणका क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएको तथा सीमा विवाद चर्किएको पृष्ठभूमिमा लामिछानेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले भने लामिछानेको भारत भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणसँग सम्बन्धित नरहेको बताएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकपछि उनले सभापति लामिछाने आफ्नै ढंगले भारत जान लागेको प्रतिक्रिया दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्