जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा सार्न सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुको सरकार समक्ष माग

सुशील सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकका जनप्रतिनिधिहरुले बाढी पहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन । बिहीवार चौतारामा बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा उनिहरुले यस्तो माग गरेका हुन । उनिहरुले बस्ती स्थानान्तरण गर्दा जिबिकोपार्जन तर्फपनि ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

बैठकमा सिन्धुपाल्चोकमा दुई सय ४२ बस्ती बाढी तथा पहिरोको जोखिममा रहेको बताइएको छ । बिहीवार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा यो तथ्यांक सार्वजनिक गरिएको हो । पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुले गरेको अध्ययनअनुसार यो तथ्यांक आएको हो ।

तथ्यांक अनुसार भोटेकोशी गाउँपालिकामा ४९ बलेफी गाउँपालिकामा १४, बाह्रविसे नगरपालिकामा २३ र चौतारा साँगाचोकगढी नगरपालिकामा ४ वटा बस्ती जोखिममा छन् । त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङपालमा ३२, सुनकोशीमा १ र त्रिपुरामा ४ बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।
यी मध्ये प्राविधिकहरुले ७१ बस्ती रेड जोनमा, ७५ बस्ती एल्लो जोन र ७६ बस्तीलाई ग्रिन जानेमा राखेको उहाँले जानकारी दिनुभयो ।यी मध्यपनि अति जोखिममा रहेका जुगल र बाह्रविसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार जुगल गाउँपालिकाको लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने भएको छ । त्यस्तै बाह्रविसे गाउँपालिकाका ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गरिन लागिएको हो । पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले तुरुन्त असुरक्षित बस्ती स्थानान्तरण गर्न सरकार र पुन निर्माण प्राधिकरणलाई आग्रह गर्नुभयो । उहाँले ै ढिला गर्दा अझै क्षति हुने भन्दैे जनताको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।

बैठकमा प्रदेश सभा सदस्य निमा लामा , मेलम्ची नगरका प्रमुख डम्बर अर्याल, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, इन्द्रावतीका अध्यक्ष वंशलाल तामाङ लगायतले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरिनुपर्नेमा जोड दिएका थिए । बाढी पहिरोको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८बढी मानिसको मृत्यु भइसकेको छ । कैयौँ मानिस घरबार बिहिन बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्