अर्घाखाँचीमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा देशभरकै सबैभन्दा धेरै वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्घाखाँचीको सिमलपानीमा १००.४ मिलिमिटर वर्षा मापन भएको हो । २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई मौसमविद्हरूले ‘धेरै भारी वर्षा’ र २०० मिलिमिटरभन्दा बढी वर्षालाई ‘अति भारी वर्षा’का रूपमा वर्गीकरण गर्छन्। यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा ‘भारी वर्षा’ र १० देखि ५० मिलिमिटरसम्म भएमा ‘मध्यम वर्षा’ मानिन्छ।महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा चितवन, रोल्पा, बर्दिया, कैलाली, बाँके, कास्की र गोरखाका विभिन्न स्थानमा पनि भारी वर्षा भएको छ ।

चितवनको गोविन्द बस्तीमा ८३ मिलिमिटर र नारायणीमा ५६ मिलिमिटर वर्षा मापन भएको छ। रोल्पामा ७७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, बर्दियाको औरही खोला केन्द्रमा ७१.२ र दौलतपुरमा ६३.८ मिलिमिटर वर्षा भएको छ। कैलालीको धनगढी विमानस्थलमा ६४.४ मिलिमिटर वर्षा मापन गरिएको छ । कास्कीको मालेपाटनमा ६७ र पोखरा मापन केन्द्रमा ५३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। बाँकेको खजुरामा ५८.४ तथा गोरखामा ५२ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मापन भएको वर्षाको विवरणअनुसार अर्घाखाँचीको सिमलपानीमा परेको वर्षा ‘धेरै भारी वर्षा’को श्रेणीमा परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्