कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ ले विद्यालयबाहिर रहेका तथा आर्थिक, सामाजिक र पारिवारिक कारणले आधारभूत शिक्षाबाट वञ्चित बालबालिकालाई पुनः विद्यालयको मूल प्रवाहमा ल्याउन कडा कदम अघि सारेको छ। वडा कार्यालयले विद्यालय नगएका बालबालिकालाई विद्यालयमा भर्ना गराई नियमित अध्ययनमा फर्काउने अभियान सञ्चालन गर्दै सरकारी सेवा तथा सुविधासँग समेत आधारभूत शिक्षा जोड्ने व्यवस्था अघि सारेको हो।
नेपालको संविधान तथा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ र नियमावली, २०७७ ले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्मको शिक्षाबाट वञ्चित गर्न नहुने व्यवस्था गरेको स्मरण गराउँदै वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडा नं. ८ मा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका तर विद्यालयबाहिर रहेका, अध्ययन नगरेका वा बीचमै विद्यालय छाडेका बालबालिकालाई विद्यालयको मूल प्रवाहमा ल्याउने कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष बहादुरसिँह महराले जानकारी दिनुभयो ।
वडाध्यक्ष बहादुर महराका अनुसार वडा क्षेत्रमा २०६१ सालमा जन्मिएका र आधारभूत तह अर्थात् कक्षा ८ उत्तीर्ण नगरी विद्यालय छाडेका बालबालिकाको संख्या ४०० भन्दा बढी रहेको देखिएको छ। विद्यालय उमेर पार गरेका भए पनि आधारभूत तहको शिक्षा पूरा नगरेका बालबालिकालाई समेत शिक्षाको मूलधारमा ल्याउन वडा कार्यालयले अभियान अघि बढाएको हो।
कार्यक्रमअन्तर्गत विशेषगरी अभिभावक नभएका अनाथ बालबालिका, अत्यन्त न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिका तथा सुकुम्बासी र भूमिहीन परिवारका बालबालिकालाई प्राथमिकतामा राखिएको छ। यस्ता बालबालिकालाई विद्यालय भर्ना तथा नियमित अध्ययनका लागि प्रोत्साहनस्वरूप स्टेसनरी, झोला र विद्यालय पोशाक उपलब्ध गराउने व्यवस्था गरिएको छ। सुकुम्बासी तथा भूमिहीन परिवारका बालबालिकालाई आवश्यक राहत सहयोगसमेत उपलब्ध गराउने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले लक्षित समूहका बालबालिकाका अभिभावक, संरक्षक, विद्यालय तथा सरोकारवालालाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको छ। निवेदनका साथ वडा कार्यालयले तोकेको ढाँचाको निवेदन फाराम, बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा अभिभावक वा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
आमा–बुबा दुवै नभएका बालबालिकाको हकमा मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि वा अनाथ प्रमाणित भएको कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै भूमिहीन तथा सुकुम्बासी परिवारका बालबालिकाका लागि वडा कार्यालयबाट उपलब्ध गराइएको निस्सा प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ।
सरकारी सेवासँग शिक्षालाई जोड्ने व्यवस्था
वडा कार्यालयले २०६१ साल वैशाख १ गतेदेखि हालसम्म जन्मिएका, आधारभूत तह उत्तीर्ण नगरी विद्यालय छाडेका तथा अभिभावकलाई पटक–पटक आग्रह गर्दा पनि विद्यालय नगएका बालबालिकाका सम्बन्धमा थप कडा व्यवस्था अघि सारेको छ।
वडा कार्यालयले त्यस्ता बालबालिकाका अभिभावकलाई आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा विद्यालय पठाउन आग्रह गर्दै नेपाल सरकार तथा वडा कार्यालयबाट उपलब्ध गराइने सेवासुविधा लिन आउँदा आधारभूत तह अर्थात् कक्षा ८ उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ।
वडा कार्यालयका अनुसार उक्त व्यवस्था अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षासम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले गरिएको हो। शिक्षाबाट वञ्चित बालबालिकाको पहिचान गरी उनीहरूलाई विद्यालयसँग जोड्नुका साथै अभिभावकलाई समेत बालबालिकाको शिक्षाप्रति जिम्मेवार बनाउने उद्देश्य अभियानको रहेको छ।
यस व्यवस्थाबाट प्रभावित सेवाग्राहीले आवश्यक परेमा सम्मानित उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा कानुनी उपचार खोज्न सक्ने व्यवस्था सूचनामा उल्लेख गरिएको छ। वडा कार्यालयले अभियान सफल बनाउन शुक्लाफाँटा नगरपालिका–८ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, आवश्यक विवरण तथा अन्य सूचना उपलब्ध गराउन आग्रह गरेको छ। साथै अभिभावक, विद्यालय, शिक्षक तथा अन्य सरोकारवालालाई समेत अभियानमा सहयोग गरी कुनै पनि बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन आग्रह गरिएको छ।





