काठमाडौँ । सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका अरविन्द कुमार चौधरी ‘गाँधी पीस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६ नेपाल’बाट सम्मानित भएका छन्। पुरस्कारको दोस्रो संस्करणअन्तर्गत चौधरीलाई ‘बेस्ट सोसल यूथ एक्टिभिस्ट’ अर्थात् उत्कृष्ट सामाजिक युवा अभियन्ताको सम्मान प्रदान गरिएको हो।
काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित विशेष समारोहमा चौधरीलाई सम्मान गरिएको हो। समाज तथा राष्ट्रको उत्थानका लागि पुर्याएको योगदान, समर्पण र उपलब्धिको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष एवं पूर्वसांसद डा. सी.के. राउत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
ए.बी.एम.को आयोजनामा भएको समारोहमा ए.बी.एम.का अध्यक्ष अनिल भगत, गणेश बहाडी, भरत बहाडी र सन्तोष कुमार शर्मा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
समरी इन्टरनेसनल प्रालि., आभा फाउन्डेसन, एस. राज प्रोडक्सन र मानव सेवा फाउन्डेसन ट्रस्ट लगायत संस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको मूल नारा ‘विजेताहरूको उत्सव मनाउने, उत्कृष्टताको सम्मान गर्ने र भविष्यलाई प्रेरित गर्ने’ रहेको थियो।
आयोजकका अनुसार चौधरीलाई प्रदान गरिएको यो सम्मान सामाजिक क्षेत्रमा सक्रिय युवा पुस्ताका लागि समेत प्रेरणाको विषय बनेको छ।




