काठमाडौँ – नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा जारी बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानसँगै कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार २९७ सदस्यीय हुने भएको छ। नयाँ विधानअनुसार केन्द्रीय कार्यसमितिमा एक सभापति, एक वरिष्ठ उपसभापति र चार उपसभापति रहनेछन्। चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ। यस्तै तीन जना महामन्त्री रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ। सहमहामन्त्रीको संख्या १५ पुर्याइएको छ भने कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट चयन हुने व्यवस्था गरिएको छ। प्रवक्ता र सहप्रवक्ताको समेत व्यवस्था गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ जना र खुला महिलाबाट १५ जना रहनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना तथा काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। समावेशीतर्फ दलितबाट पाँच महिलासहित १४ जना, आदिवासी जनजातिबाट आठ महिलासहित २० जना, खस आर्यबाट आठ महिलासहित १८ जना र मधेसीबाट पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य रहनेछन्। यस्तै, जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना र पिछडिएको वर्गबाट तीन जना रहने व्यवस्था गरिएको छ।
थारूतर्फ दुई महिलासहित छ जना, श्रमिकतर्फ एक महिलासहित तीन जना तथा पेसागत विज्ञबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहनेछन्। सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन्। यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ। नयाँ संरचनामा विभिन्न वर्ग, समुदाय, क्षेत्र, पेसा तथा पुस्ताको प्रतिनिधित्वलाई समेट्ने गरी केन्द्रीय समितिको आकार विस्तार गरिएको छ।
सोमबार संशोधित विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबार बस्ने बन्दसत्रले पारित गर्नेछ। मंगलबार बिहान १० बजेदेखि नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुने भएकाले निर्वाचन प्रक्रिया अघि बढाउन विधान सोमबार नै पारित गरिएको पार्टीले जनाएको छ।




