काठमाडौं । नेपाल राष्ट्र बैंकले आसन्न चाडपर्वलाई लक्षित गर्दै एटीएमबाटै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि वाणिज्य बैंकहरूले कार्यान्वयन प्रक्रिया अघि बढाएका छन्। राष्ट्र बैंकका अनुसार प्राविधिक रूपमा सम्भव तथा सक्षम रहेका एटीएम मसिनमा १०० रुपैयाँ दरका नोट राखेर वितरण सुरु गरिएको छ। सबै एटीएममा यो व्यवस्था अनिवार्य नगरिए पनि थप क्यासेट (स्लट) राख्न वा विद्यमान संरचनामा मिलाउन सकिने मसिनमा १०० रुपैयाँका नोट उपलब्ध गराउन निर्देशन दिइएको हो।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नेपाल बैंकर्स संघ (एनबीए) को नेतृत्वसँग समन्वय गरेर बैंकहरूलाई आवश्यक व्यवस्था मिलाउन भनिएको जानकारी दिए। “सबै एटीएम मसिनबाट तत्काल सम्भव नभए पनि प्राविधिक रूपमा सम्भव भएका मसिनबाट बैंकहरूले १०० दरका नोट राख्ने प्रक्रिया थालिसकेका छन्,” प्रवक्ता पौडेलले भने। उनका अनुसार कुन बैंकले कतिवटा एटीएमबाट यस्तो सेवा सुरु गरेका छन् भन्ने विस्तृत विवरण संकलन भइरहेको छ।
हाल अधिकांश एटीएममा दुईवटा मात्र क्यासेट हुने र ती क्यासेटमा सामान्यतया १ हजार र ५ सय रुपैयाँ दरका नोट राखिँदै आएको छ। थप क्यासेट जडान गर्न मिल्ने आधुनिक एटीएममा भने १०० रुपैयाँको छुट्टै स्लट थपेर नोट राख्न थालिएको राष्ट्र बैंकले जनाएको छ। तर, प्राविधिक रूपमा परिमार्जन गर्न कठिन रहेका वा संरचना नमिल्ने पुराना एटीएममा तत्काल १०० रुपैयाँका नोट राख्न बैंकहरूलाई बाध्य नबनाइएको पौडेलले स्पष्ट पारे।
ठूला र साना दरका नोट मिश्रित रूपमा आउने
एटीएमबाट रकम निकाल्दा ग्राहकले १०० रुपैयाँका नोट मात्र पाउने छैनन्। एटीएमको डिस्पेन्सिङ प्रणालीअनुसार ठूला र साना दरका नोट मिश्रित रूपमा आउने व्यवस्था मिलाइएको छ। उदाहरणका लागि, ग्राहकले १ हजार ४ सय वा १ हजार ९ सय रुपैयाँ रकम निकाल्दा १ हजार वा ५ सय रुपैयाँका नोटसँगै १०० रुपैयाँका नोट पनि प्राप्त गर्न सक्नेछन्। एटीएमले एकपटकमा निश्चित संख्यामा मात्र नोट वितरण गर्न सक्ने भएकाले शतप्रतिशत साना दरका नोट उपलब्ध गराउँदा मसिन जाम हुने तथा नगद छिट्टै सकिने जोखिम हुन्छ। यही कारण ठूला र साना दरका नोटको उपयुक्त अनुपात मिलाएर वितरण गर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
बैंक काउन्टरको भीड घट्ने अपेक्षा
चाडपर्वका बेला साना दरका नोट साट्न बैंक तथा वित्तीय संस्थाका काउन्टरमा सर्वसाधारणको भीड बढ्ने गरेको छ। एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध हुन थालेपछि काउन्टरको चाप केही कम हुने अपेक्षा गरिएको छ। यद्यपि, एटीएममा १०० रुपैयाँका नोट राख्दा मसिनको कुल नगद भण्डारण क्षमता घट्ने र पटक–पटक नगद थप्नुपर्ने चुनौती पनि देखिएको छ। त्यसैले बैंकहरूले एटीएमको नगद मौज्दात तथा ग्राहकको मागअनुसार नियमित निगरानी र व्यवस्थापन गर्नुपर्ने देखिन्छ। राष्ट्र बैंकले हाल चाडपर्वलाई लक्षित गरेर अघि बढाइएको यो व्यवस्थालाई ग्राहकको माग र प्रभावकारिता हेरेर आगामी दिनमा समेत निरन्तरता दिन सकिने जनाएको छ।




