काठमाडौँ – नेपाली कांग्रेसका नेता धर्मानन्द जोशीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। जोशीले ‘पेसागत विज्ञ’ क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
पछिल्लो करिब १५ वर्ष संयुक्त राष्ट्रसंघअन्तर्गत द्वन्द्व व्यवस्थापन, कानुन निर्माण तथा राजनीतिक मामिलाका क्षेत्रमा काम गरेको जोशीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका तर्फबाट दार्चुलाबाट उम्मेदवार बनेका थिए ।
आफ्नो उम्मेदवारी बदलिएको, पुस्तान्तरण भएको, रूपान्तरित र बलियो कांग्रेस निर्माण गर्ने उद्देश्यमा केन्द्रित रहेको जोशीले बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र भइरहेको परिवर्तन, पुस्तान्तरण र रूपान्तरणलाई संस्थागत गर्ने विश्वास व्यक्त गर्दै उनले देशभरका महाधिवेशन प्रतिनिधिको साथ र सहयोगको अपेक्षा गरेका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण र संविधान संशोधनका क्षेत्रमा विशेष योगदान गर्ने जोशीको भनाइ छ। अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेको अनुभव र ज्ञानलाई नेपाली कांग्रेस तथा देशको हितमा उपयोग गर्ने उद्देश्यले पेसागत विज्ञ क्लस्टरबाट उम्मेदवारी दिएको उनले बताएका छन्।
जोशीले आफ्नो उम्मेदवारीलाई पार्टीभित्र विज्ञता, अनुभव र नयाँ पुस्ताको सहभागितालाई जोड्ने प्रयासका रूपमा अघि सारेका छन्। लामो समय अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको अनुभवलाई पार्टीको नीति निर्माण र देशको हितमा उपयोग गर्ने उनको प्रतिबद्धता छ।




