काठमाडौँ – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको छ। यसको प्रभावका कारण बुधबार बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा कास्कीको पोखरामा २९.४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, मालेपाटनमा १२.८ मिलिमिटर, लमजुङको गिलुङमा १९ मिलिमिटर, बेँसीसहरमा ४.२ मिलिमिटर, चितवनको नारायणी फिल्ड अफिस मापन केन्द्रमा १३.८ मिलिमिटर वर्षा भएको छ।
त्यसैगरी बर्दियाको कुम्रा गाउँमा ७.४ मिलिमिटर, रानी जरुवामा ६.४ मिलिमिटर, डोटीको गैरमकममा ३.२ मिलिमिटर र दार्चुलाको धर्मपानीमा ५.४ मिलिमिटर वर्षा मापन गरिएको छ। पछिल्लो २४ घण्टामा पनि देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार दिउँसो हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। वर्षासँगै ती क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
बुधबार राति हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, राति तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसम प्रणाली सक्रिय रहेकाले वर्षा हुने क्षेत्रका बासिन्दालाई मौसमको अवस्था बुझेर आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।




