कांग्रेस केन्द्रीय सदस्यमा पेशागत विज्ञ क्लस्टरबाट धर्मानन्द जोशीको उम्मेदवारी-जीवनी सहित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विज्ञ क्लस्टरबाट केन्द्रीय सदस्य पदमा धर्मानन्द जोशीले उम्मेदवारी दिएका छन्। राष्ट्रिय राजनीतिमा तुलनात्मक रूपमा नयाँ अनुहारका रूपमा देखिएका जोशी कानुनी क्षेत्र, मानवअधिकार, द्वन्द्व व्यवस्थापन, अन्तर्राष्ट्रिय मामिला तथा समाजसेवाको लामो अनुभवसहित कांग्रेसको केन्द्रीय नेतृत्वमा आउन खोजेका हुन्। उहाँ अनुभवको हिसाबले विज्ञ व्यक्तिको रुपमा चिरपरिचित हुन् । २०८२ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुलाबाट उम्मेदवार समेत बनेका थिए ।  दार्चुलाको विकट ग्रामीण परिवेशबाट संघर्ष गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको अनुभवलाई उनले अब देशको राजनीतिक तथा सामाजिक रूपान्तरणमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विज्ञ क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिनुको मुख्य उद्देश्य पनि आफ्नो अनुभवलाई पार्टी र मुलुकको नीतिगत तहमा प्रयोग गर्नु रहेको जोशीको भनाइ छ। उनले सुशासन, सामाजिक न्याय, शिक्षा, अवसरको समान पहुँच र राज्यका सेवा ग्रामीण तथा दुर्गम क्षेत्रसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै आएका छन्।

दार्चुलाको ग्रामीण परिवेशमा बाल्यकाल बिताएर संघर्षपूर्ण रूपमा शिक्षा हासिल गरेका जोशीले त्यसपछि अन्तर्राष्ट्रिय संस्थामा मानवअधिकार र द्वन्द्व व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरे। अन्तर्राष्ट्रिय अनुभवपछि पुनः आफ्नै जन्मभूमिमा फर्किएर सामाजिक क्षेत्रमा सक्रिय भएका उनी अहिले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका खोजिरहेका छन्। पेशागत विज्ञ क्लस्टरबाट उम्मेदवारी दिएका जोशीले आफूले हासिल गरेको कानुनी, अन्तर्राष्ट्रिय तथा सामाजिक अनुभवलाई कांग्रेसको संगठन र नीति निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

वि.सं. २०३२ सालमा दार्चुलाको शैल्यशिखर नगरपालिका–८ पपरथलामा सामान्य किसान परिवारमा जन्मिएका जोशीको बाल्यकाल सहज थिएन। कक्षा ७ मा अध्ययन गरिरहँदा १४ वर्षको उमेरमै घर छाडेर डेरामा बस्दै पढाइलाई निरन्तरता दिनुपरेको उनको भनाइ छ। डेराको खर्च जुटाउन उनले बाँझो घर लिपपोत गर्ने, गोठालो जाने, घाँसदाउरा गर्ने लगायतका काम गरे। विद्यालय पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने र खोलाखोल्सी तथा बाढीको जोखिम पार गर्नुपर्ने अवस्था पनि उनले भोगे। आफ्नो बाल्यकालको यो संघर्षलाई उनले व्यक्तिगत कठिनाइ मात्र नभई दार्चुला तथा सुदूरपश्चिमका धेरै ग्रामीण बालबालिकाले भोग्दै आएको साझा यथार्थका रूपमा लिने गरेका छन्।

आर्थिक तथा भौगोलिक कठिनाइका बीच पनि अध्ययनलाई निरन्तरता दिएका जोशीले झुलाघाटबाट मट्टीतेल बोकेर ल्याई टुकीको उज्यालोमा अध्ययन गरेको अनुभव सुनाउँछन्। संघर्षकै बीच उच्च शिक्षा हासिल गर्दै उनी कानुनमा स्नातकोत्तर तहसम्म पुगे। शिक्षा पूरा गरेपछि संयुक्त राष्ट्रसंघसँग आबद्ध भएर मानवअधिकार र द्वन्द्व व्यवस्थापनका क्षेत्रमा काम गर्ने अवसर पाए। करिब १५ वर्षभन्दा बढी समय संयुक्त राष्ट्रसंघमा काम गर्दा उनले द्वन्द्व तथा युद्ध प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्नुका साथै अन्तर्राष्ट्रिय नीतिगत तहमा समेत अनुभव हासिल गरेका छन्।

जोशीले अफगानिस्तान र इराकजस्ता युद्धग्रस्त क्षेत्रमा काम गरेको अनुभवसमेत हासिल गरेका छन्। त्यसैगरी जेनेभा र न्यूयोर्कजस्ता अन्तर्राष्ट्रिय कूटनीतिक तथा नीतिगत केन्द्रमा काम गरेको अनुभवले उनलाई अन्तर्राष्ट्रिय राजनीति, मानवअधिकार, द्वन्द्व व्यवस्थापन र नीति निर्माणका विषयमा व्यावहारिक ज्ञान दिएको उनको भनाइ छ। करिब दुई दशक लामो अन्तर्राष्ट्रिय अनुभवलाई उनी अहिले नेपालको सामाजिक, राजनीतिक र विकास प्रक्रियासँग जोड्न चाहन्छन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित करिअर हुँदाहुँदै जोशी अन्ततः आफ्नै जन्मभूमि फर्किए। विदेशमा प्राप्त ज्ञान र अनुभवलाई व्यक्तिगत करिअरमा मात्र सीमित नराखी स्थानीय समुदायका लागि प्रयोग गर्ने उद्देश्यले उनी सामाजिक काममा सक्रिय भए। विशेषगरी शिक्षा क्षेत्रमा उनले व्यक्तिगत पहलमा ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन्। दार्चुलाका हुनैनाथ माध्यमिक विद्यालय रातामाटा र गलैनाथ माध्यमिक विद्यालय झारकडामा ११/११ लाख रुपैयाँका अक्षयकोष स्थापना गरिएको उनले बताएका छन्।

यी अक्षयकोषबाट प्राप्त ब्याजमार्फत प्रत्येक विद्यालयका पाँच/पाँच जना विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको छ। त्यसैगरी उत्कृष्ट तीन/तीन जना शिक्षकलाई सम्मान गर्ने व्यवस्था पनि गरिएको छ। शिक्षा नै समाज परिवर्तनको सबैभन्दा बलियो आधार भएको बताउँदै जोशीले ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई शिक्षामा पहुँच पुर्‍याउन आफूले सकेको योगदान गर्दै आएको बताएका छन्। आगामी दिनमा अक्षयकोषको रकम थप विस्तार गर्ने उनको योजना छ।

जोशीको सामाजिक सक्रियता शिक्षामा मात्र सीमित छैन। स्वास्थ्य तथा सामाजिक सहयोगका क्षेत्रमा समेत उनले स्थानीय संघसंस्था र विदेशमा रहेका नेपालीसँग सहकार्य गर्दै आएका छन्। मालिकार्जुन गाउँपालिकाका संघसंस्थासँग समन्वय गरी स्थानीय अस्पतालका लागि १६ थान स्ट्रेचर उपलब्ध गराएको उनले बताएका छन्। यसैगरी संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरूसँगको सहकार्यमा तुइन तर्ने क्रममा ज्यान गुमाएका जयसिंह धामीको परिवारलाई १ लाख ५० हजार रुपैयाँ सहयोग जुटाएको उनको भनाइ छ।

समाजसेवाप्रतिको आफ्नो प्रेरणा परिवार तथा अग्रजबाट प्राप्त भएको जोशी बताउँछन्। उनका पितापुर्खा विष्णुदत्त जोशीले दान गरेको जग्गामा सञ्चालन भइरहेको श्री मसिना आधारभूत विद्यालयले स्थानीय बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ। पारिवारिक रूपमा नै सामाजिक सेवा र शिक्षाप्रतिको जिम्मेवारीको संस्कार पाएको बताउने जोशीले त्यसलाई आफ्नो जीवनमा पनि निरन्तरता दिएको धारणा राख्छन्।

राजनीतिक तथा सामाजिक न्यायका विषयमा पनि जोशी लामो समयदेखि सक्रिय रहेको बताउँछन्। सन् २००० देखि २००६ सम्म सामाजिक न्यायका लागि भएका विभिन्न आन्दोलनमा आफ्नो संलग्नता रहेको उनले बताएका छन्। कानुनको अध्ययन, मानवअधिकार र द्वन्द्व व्यवस्थापनमा अन्तर्राष्ट्रिय अनुभव तथा सामाजिक क्षेत्रमा गरेको कामलाई जोडेर उनले राजनीतिक क्षेत्रमा प्रवेशलाई केवल पद प्राप्तिको विषय नभई नीति निर्माण र सार्वजनिक सेवामा योगदान गर्ने अवसरका रूपमा लिएका छन्।

संघर्षपूर्ण बाल्यकाल, कानुनी शिक्षा, संयुक्त राष्ट्रसंघमा लामो कार्यअनुभव र जन्मभूमिप्रतिको सामाजिक प्रतिबद्धतालाई आफ्नो राजनीतिक यात्राको आधार बनाएका जोशी अहिले कांग्रेसको १५औँ महाधिवेशनमा प्रतिनिधिहरूमाझ पुगेका छन्। उनको उम्मेदवारीले पेशागत क्षेत्रबाट राजनीतिक नेतृत्वमा आउन खोज्ने प्रतिनिधिहरूको सहभागितालाई समेत देखाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्