काठमाडौँ – इजरायलमा आज मंगलबार (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ। निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ। नेतान्याहु सन् १९९६ देखि विभिन्न अवधिमा १७ वर्षभन्दा बढी समय इजरायलको प्रधानमन्त्री भइसकेका छन्।
उनका समर्थकले उनलाई सुरक्षा मामिलामा अनुभवी नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्। तर आलोचकहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन्। गाजामा युद्धका क्रममा भएका कथित युद्ध अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले नेतान्याहुविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ।
यसपटकको निर्वाचनमा नेतान्याहुलाई चुनौती दिन पूर्वसैनिक प्रमुख गादी आइजेनकोट, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, विपक्षी नेता यायर लापिड र पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यानलगायतका नेताहरू सक्रिय छन्। विपक्षी दलहरूबीचको सहकार्यले नेतान्याहुको राजनीतिक भविष्यमा प्रभाव पार्न सक्ने देखिएको छ।
नेतान्याहुको सरकारलाई अर्थमन्त्री बेजालेल स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरजस्ता दक्षिणपन्थी नेताहरूको समर्थन छ। प्यालेस्टिनीहरूप्रति अपनाइएका कठोर नीति र पश्चिम किनारमा इजरायली बस्ती विस्तारको समर्थनका कारण उनीहरू अन्तर्राष्ट्रिय आलोचनामा पर्दै आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने नेतान्याहुलाई समर्थन गर्दै आएका छन्।
इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन्। सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। इजरायलमा मतदाताले राजनीतिक दललाई मत दिने र दलहरूले प्राप्त गरेको मतको अनुपातमा संसद्मा सिट पाउने व्यवस्था छ। कुनै एक दलले स्पष्ट बहुमत प्राप्त नगरेमा गठबन्धन सरकार गठन गर्नुपर्ने भएकाले निर्वाचनको परिणामसँगै विभिन्न दलबीचको सहकार्य र साना दलहरूको समर्थन नेतान्याहुको सत्ता भविष्यका लागि निर्णायक बन्नेछ।




