काठमाडौँ – पश्चिम-मध्य बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवात थप तीव्र बनेर अत्यन्त शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार आँधी उत्तर-पश्चिमतर्फ अघि बढ्दै बुधबार दिउँसो आन्ध्र प्रदेशको तटीय क्षेत्रस्थित बापटला र विशाखापट्टनमबीचको यानम आसपासबाट जमिनमा प्रवेश गर्ने सम्भावना छ।
तटीय क्षेत्र पार गर्दा आँधीको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र अधिकतम गति १४० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। चक्रवातका कारण आन्ध्र प्रदेश र यानममा मंगलबार तथा बुधबार, ओडिसा र छत्तीसगढमा बुधबार र बिहीबार भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ। पूर्वी उत्तर प्रदेशका विभिन्न जिल्लामा पनि वर्षाको सम्भावना रहेको जनाइएको छ।
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै भारतमा पूर्वसतर्कताका उपाय अपनाइएको छ। दक्षिण तटीय रेलवेले मंगलबार र बुधबारका लागि ५३ वटा रेल सेवा रद्द गरेको छ। अण्डमान तथा निकोबार प्रशासनले विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। विद्यालय बन्द रहे पनि बालबालिका र महिलाका लागि पोषणसम्बन्धी सेवा प्रभावित नहोस् भनेर घरघरमै सुक्खा खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको छ।
यसैबीच, ओडिसा सरकारले चक्रवातसम्बन्धी सूचना सम्प्रेषण गर्दा झूटा, भ्रामक तथा अपुष्ट विवरण नफैलाउन सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूलाई आग्रह गरेको छ।




