काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी डलर आर्थिक तथा सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गर्नुभएको छ । मंगलबार फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’सँग कुरा गर्दै ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सहायता रोक्ने विषयमा सहमति भइसकेको बताउनुभएको हो । यद्यपि इसराइललाई आवश्यक परे हतियार बिक्री तथा अन्य सहयोग भने जारी रहने उहाँले स्पष्ट पार्नुभएको छ ।
इसराइललाई अमेरिकी आर्थिक सहायताको आवश्यकता नरहेको दाबी गर्दै ट्रम्पले उक्त रकमलाई लिएर डेमोक्रेटिक पार्टीले रिपब्लिकनमाथि आलोचना गर्ने गरेको बताउनुभयो ।
अमेरिका र इसराइलबीच सन् २०१६ मा भएको १० वर्षे सम्झौताअनुसार अमेरिकाले वार्षिक ३ अर्ब ८० करोड डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ । उक्त सम्झौता सन् २०२८ को सेप्टेम्बरमा सकिने भएकाले ट्रम्पको घोषणाले विद्यमान सम्झौतामा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भएको छैन । ट्रम्पको घोषणाप्रति इसराइलका विपक्षी नेता गादी आइजेनकोटले असन्तुष्टि जनाउनुभएको छ । इसराइलको सुरक्षा निकाय र नागरिकले दुई देशबीचको रणनीतिक सम्बन्धमा परिवर्तन हुन लागेको कुरा सञ्चारमाध्यमबाट थाहा पाउनुपर्ने अवस्था आएको भन्दै उहाँले प्रधानमन्त्री नेतन्याहूको आलोचना गर्नुभएको छ ।
गाजामा इसराइलको सैन्य कारबाहीपछि अमेरिकी सहयोगबारे अमेरिकाभित्रै असन्तुष्टि बढ्दै गएको छ । डेमोक्रेटिक पार्टीका साथै रिपब्लिकन पार्टीभित्रकै केही नेताले पनि इसराइललाई दिइने सहायता र मध्यपूर्वको द्वन्द्वमा अमेरिकी संलग्नतामाथि प्रश्न उठाउँदै आएका छन् ।




