निर्वाचन आयोगविरुद्ध भारतको ‘इन्डिया ब्लक’को प्रदर्शन, राहुल गान्धीद्वारा धाँधलीको आरोप

(AP Photo/Vipin)

नयाँ दिल्ली – भारतको मुख्य विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ले निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध नयाँ दिल्लीमा विशाल विरोध प्रदर्शन गरेको छ। ‘चलो दिल्ली’ अभियानअन्तर्गत रामलीला मैदानमा आयोजित प्रदर्शनमा हजारौँ नागरिक तथा विपक्षी दलका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

‘भोट बचाओ, देश बचाओ’ नारासहित आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेता राहुल गान्धीले निर्वाचनमा धाँधली र अनियमितता भएको आरोप लगाउनुभयो। उहाँले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि प्रश्न उठाउँदै उहाँ जेल जाने दाबीसमेत गर्नुभयो।

प्रदर्शनमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलगायत विपक्षी गठबन्धनका शीर्ष नेताहरू सहभागी थिए। उनीहरूले निर्वाचन प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगको भूमिकाको विरोध गरेका थिए।

गएको वर्ष बिहारसहित विभिन्न राज्यमा लागू गरिएको ‘विशेष गहन पुनरावलोकन’ (एसआईआर) प्रक्रियाका क्रममा झन्डै १३ करोड मतदाताको नाम हटाइएको विषयलाई लिएर विपक्षी दलहरू असन्तुष्ट छन्। निर्वाचन आयोगले दोहोरिएका तथा मृत्यु भएका व्यक्तिका नाम मतदाता सूचीबाट हटाइएको दाबी गर्दै आएको छ। तर विपक्षी दलहरूले भने उक्त प्रक्रियामार्फत अल्पसङ्ख्यक तथा भारतीय जनता पार्टी (भाजपा) इतरका मतदातालाई लक्षित गरिएको आरोप लगाउँदै आएका छन्।

हालै दुई निर्वाचन आयुक्तले मुख्य निर्वाचन आयुक्तका निर्णयप्रति असन्तुष्टि जनाएको प्रतिवेदन सार्वजनिक भएपछि विवाद थप चर्किएको छ। यसले निर्वाचन आयोगको निष्पक्षता र निर्णय प्रक्रियामाथि राजनीतिक बहसलाई थप तीव्र बनाएको छ।

प्रदर्शनका क्रममा सम्भावित हिंसात्मक गतिविधि हुन सक्ने आशङ्कामा सरकारले नयाँ दिल्लीमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो। गठबन्धनले निर्वाचन प्रक्रियामा पारदर्शिता र आयोगको जवाफदेहिताको माग गर्दै विरोध प्रदर्शन गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्