निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारो परिवारसहित अमेरिका भागे

काठमाडौं – ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजय व्यहोरेपछि सिनेटर फ्लाभियो बोल्सोनारो पत्नी र दुई छोरीसहित अमेरिका भागेको खबर सार्वजनिक भएको छ। अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो र उनको परिवारलाई अमेरिका प्रवेशका लागि भिसा उपलब्ध गराइएको जानकारी रोयटर्सलाई दिएका छन्।

मंगलबार दिउँसोसम्म प्राप्त विवरणअनुसार फ्लाभियो परिवारसहित ब्राजिल छाडेर अमेरिका पुगेका हुन्। परिवारनिकट एक स्रोतले उनी फ्लोरिडा पुगेको बताए पनि उनीहरू कहाँ बसेका छन् भन्नेबारे खुलाएको छैन।

फ्लाभियोले आइतबार भएको निर्वाचनमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजय व्यहोरेका थिए। उनले अहिलेसम्म औपचारिक रूपमा हार स्वीकार गरेका छैनन्। निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै उनले नतिजा बदर गर्नसमेत माग गरेका थिए।

अमेरिका प्रस्थान गर्नुअघि ब्राजिलको सर्वोच्च अदालतले फ्लाभियोलाई २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो। तोकिएको समयसीमाभित्र राहदानी नबुझाएपछि ती रद्द गरिएको स्रोतहरूले बताएका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनी देश छाडेर जान सक्ने जोखिम रहेको भन्दै अदालतले राहदानी जफत गर्ने आदेश दिएको जनाइएको छ। फ्लाभियोले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्।

‘म कहिल्यै देश छाडेर जाने सोचमा थिइनँ। राहदानी बुझाएर यो अन्यायविरुद्ध लड्नेछु,’ उनले सोमबार भनेका थिए। तर त्यसको केही समयपछि उनी अमेरिका पुगेको खबर सार्वजनिक भएको हो।

ब्राजिलको संघीय प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार फ्लाभियोले नियमित अध्यागमन नाकाबाट देश छाडेका थिएनन्। उनी कसरी अमेरिका पुगे भन्ने विषय भने अझै स्पष्ट भएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्