काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुआत गरेको छ। कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९ ओभर ३ बलमा ११३ रनमै अलआउट भएपछि कर्णालीले १९ रनको जित निकालेको हो। जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिम्मी निशमले १५, मायन यादवले १४ र अनिलकुमार शाहले ११ रन बनाए। कुशल परेवा ६, तृतराज दास एक, ललित राजवंशी एक रनमा आउट भए। आदित्य मेहता खाता नखोली आउट हुँदा राहुल यादव एक रनमा अविजित रहे।
कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिए। युनिसले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिएका थिए। उनले एकै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिम्मी निशमलाई आउट गरेपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो। नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। कर्णालीका ओपनर अरिफुल इस्लामले २९ बलमा चार चौकासहित सर्वाधिक ४३ रन बनाए। पवन सर्राफले ३७ रन जोड्दै अरिफुलसँग चौथो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए।
कर्णालीले सुरुआतमै विकेट गुमाएको थियो। मार्क वाट पहिलो ओभरको अन्तिम बलमा एक रन बनाएर आउट भए। त्यसपछि दीपक डुम्रे १३ र हुसेन तलत तीन रनमा पभेलियन फर्किए। अरिफुल र पवनले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनीहरू आउट भएपछि कर्णालीले लगातार विकेट गुमायो। अक्बर अली र सोमपाल कामीले समान एक, गुल्सन झाले १२ र नन्दन यादवले नौ रन बनाए। युवराज खत्री र युनिस ठकुरी अविजित रहे। जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए। प्रतियोगिताअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।




