गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीन घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा चालक स्याङ्जाको वालिङ नगरपालिका-२ का ६७ वर्षीय दिलिपकुमार बागले, वालिङ-१० का शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका-१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्। घटनास्थलमै मृत्यु भएका अर्का एक जनाको पहिचान खुल्न बाँकी छ। घाइते निता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ भने गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप विवरण संकलन तथा मृतक र घाइतेको पहिचान पुष्टि गर्ने काम भइरहेको प्रहरी निरीक्षक सुदीप नेपालीले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्