एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौँ – साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीका ओपनर डार्सी सर्टले १८ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए। दुवैले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने अनिल खरेल १७ रनमा अविजित रहे। लुम्बिनीका किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिए। खेलमा पहिलो पटक प्रयोग गरिएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) मा लुम्बिनीको टोली सफल हुन सकेन। मंगलबार एनपीएलमा दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे भिड्नेछन् भने दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्