चार सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा

काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएयता चार सचिवसहित ४६४ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती)का अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी उक्त संख्यामा कर्मचारीले पदबाट राजीनामा दिएका हुन्।

किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्। राजपत्राङ्किततर्फ चार सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृतले राजीनामा दिएका छन्।

त्यस्तै, राजपत्र अनङ्किततर्फ खरिदार तथा नायब सुब्बा तहका १३७ जना र श्रेणीविहीन १२० जना कर्मचारीले राजीनामा दिएका छन्। किताबखानाका अनुसार उनीहरूको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।

सरकारले प्रतिनिधिसभामा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा विधेयक कार्यान्वयनमा आउँदा पहिलोपटक ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीले राजीनामा दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। उक्त व्यवस्थापछि कर्मचारीले धमाधम राजीनामा दिएको बताइएको छ। यद्यपि, राजीनामा पत्रमा कर्मचारीहरूले घरायसी कारण उल्लेख गरेको किताबखानाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्