सडकको भेलले बगाउँदा पोखरामा आमा-छोरीको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं – कास्कीको पोखरामा सडकको नालीबाट आएको तीव्र भेलले बगाउँदा आमा-छोरीको मृत्यु भएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानी दाहालको भेलमा बगेर मृत्यु भएको हो।

शुक्रबार साँझ सुष्मा छोरी रानीलाई लिएर ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिइन्। सडकमा आएको भेलका कारण स्कुटर साइड लगाएर झर्ने क्रममा बालिकालाई अचानक भेलले बगाएर नालीतर्फ पुर्‍याएको थियो। छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेपछि दुवैलाई तीव्र बहावको भेलले बगाएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए। उनका अनुसार भेलले आमाछोरीलाई करिब दुई किलोमिटर तल पोखरा-१७ बिरौटासम्म पुर्‍याएको थियो।

बिरौटास्थित नहरको कुलोबाट दुवैलाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा सुष्माको शुक्रबार राति मृत्यु भएको थियो भने छोरी रानीको आज बिहान मृत्यु भएको बरालले जानकारी दिए। अचानक आएको भेलका कारण भएको यो घटनाले वर्षायाममा सडक, नाली तथा खोल्सा आसपास आवतजावत गर्दा थप सावधानी अपनाउनुपर्ने देखाएको छ। विशेषगरी तीव्र वर्षाका बेला सडकमा जमेको वा बगेको पानी सामान्य देखिए पनि त्यसको बहाव अत्यन्त जोखिमपूर्ण हुन सक्ने भएकाले सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले सचेत रहन आग्रह गर्दै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्