पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीमा लेदो हटाउने काम जारी

FILE PHOTO

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्म काठमाडौं–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा ठूलो मात्रामा लेदो थुपारेपछि राजमार्ग अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरले जनाएको छ ।

कार्यालयका प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार बैरेनी क्षेत्रमा भने अझै केही स्थानमा लेदो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले तत्काल दुईतर्फी रूपमा सडक सञ्चालन गर्न कठिनाइ भइरहेको छ । बाढीका कारण राजमार्गमै अलपत्र परेका सवारीसाधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम गरिएको उनले बताए । सडकमा सवारीसाधनको चाप रहेकाले समस्या भएका स्थानमा सुरक्षाकर्मी परिचालन गरी ट्राफिक व्यवस्थापन तथा यात्रुलाई सहजीकरण गरिएको छ ।

पाण्डेका अनुसार बैरेनी क्षेत्रमा बाँकी रहेको लेदो केही घण्टामै हटाउन सकिने अवस्था भए पनि सडकमा निरन्तर सवारी सञ्चालन भइरहँदा काम गर्न असहज भइरहेको छ । दुईतर्फी रूपमा सडक सञ्चालनमा ल्याउने गरी लेदो हटाउने कामलाई तीव्रता दिइएको उनले बताए । भोटेकोशी बाढीपछि पृथ्वी राजमार्गसहित विभिन्न प्रमुख सडकखण्डमा बाढी, पहिरो र लेदोका कारण यातायात प्रभावित भएको थियो । सडक सञ्चालनमा आए पनि जोखिमयुक्त क्षेत्रमा सवारीसाधन चलाउँदा सावधानी अपनाउन तथा ट्राफिक सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्