काठमाडौं – चीनको तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी नेपाल प्रहरीका २७ जना कर्मचारी अझै बेपत्ता रहेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि सम्पर्कविहीन भएका एक प्रहरी कर्मचारीको भने शव फेला परेको छ । बाढीमा परी बेपत्ता भएका प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेलको शव चितवनमा फेला परेको प्रहरीले जनाएको छ । फेला परेको शव पौडेलका आफन्तले सनाखत गरी बुझिसकेका छन् ।
बाढी आएको दिनदेखि पौडेल सम्पर्कविहीन थिए । उनीसँगै कार्यरत प्रहरी सहायक हवल्दार सन्तोष रिजालले भने बाढीबाट भागेर ज्यान जोगाएका थिए । रिजालले बाढी आउँदा आफूहरूसँगै रहेका साथीहरू आँखैअघि बगेको बताएका थिए । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार असईदेखि प्रहरी जवानसम्मका २७ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको छ ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ तथा नवलपरासीसम्मका नदी तथा तटीय क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी हालसम्म सयौँको मृत्यु पुष्टि भइसकेको छ भने ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन छन् । पछिल्लो आधिकारिक विवरणअनुसार २७ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको उल्लेख छ । प्रहरी कर्मचारीसमेत ठूलो संख्यामा बेपत्ता भएपछि नेपाल प्रहरीले खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ । कठिन भूगोल, नदीको तीव्र बहाव तथा कतिपय क्षेत्रमा सडक र सञ्चार सम्पर्क विच्छेद हुँदा बेपत्ता व्यक्तिको खोजी चुनौतीपूर्ण बनेको छ ।
बाढीमा बेपत्ता भएका आफ्ना कर्मचारीको अवस्था पत्ता लगाउन नेपाल प्रहरीले सम्भावित स्थानमा स्थल तथा हवाई माध्यमबाट खोजी गरिरहेको जनाएको छ । पछिल्लो विवरणअनुसार असई रामकाजी पौडेलको शव फेला पर्नुले बेपत्ता प्रहरीको खोजीमा थप प्रमाण प्राप्त भए पनि बाँकी २७ जनाको अवस्था अझै अज्ञात रहेको छ ।





