भोटेकोशी-त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ अझै सम्पर्कविहीन

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न आठ जिल्लाबाट हालसम्म ५७९ जनाको शव फेला परेको हो । प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको छ । बाढी तथा त्यसबाट सिर्जित विपद्मा परेका चार हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १२९ जना विदेशी नागरिक रहेका छन् । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका १९१ जनाको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ । तर विपद्को ठूलो प्रभावका कारण अझै १ हजार ९२४ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी तथा सरकारी कर्मचारीदेखि स्वदेशी तथा विदेशी नागरिकसमेत छन् ।

प्राधिकरणका अनुसार नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन छन् । त्यस्तै ५१७ जना विदेशी नागरिक पनि अझै सम्पर्कमा आउन सकेका छैनन् । बाढीमा परी घाइते भएका ९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उद्धारसँगै प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने काम पनि भइरहेको छ ।

विपद्पछि सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । खोज तथा उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरमार्फत दुर्गम तथा प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्‍याउने काम भइरहेको भए पनि जंगल तथा अत्यन्तै अप्ठ्यारो भूबनोट भएका क्षेत्रमा अलपत्र परेका नागरिकको उद्धार अझै चुनौतीपूर्ण बनेको छ ।

प्रभावित क्षेत्रमा कतिपय नागरिक उद्धारको पर्खाइमा रहे पनि सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुनुका साथै भौगोलिक कठिनाइका कारण उद्धार टोली पुग्न नसकेको गुनासोसमेत आएको छ । सरकारले आज पनि खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकताका साथ निरन्तरता दिने जनाएको छ । बाढीबाट भएको मानवीय क्षतिको पूर्ण विवरण अझै संकलन हुन बाँकी रहेकाले मृतक तथा सम्पर्कविहीनको संख्या थप बढ्न सक्ने सम्भावना रहेको छ । विशेषगरी नदी तटीय क्षेत्र, जलविद्युत् आयोजना, सडक तथा दुर्गम बस्तीमा केन्द्रित भएर खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्