काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल-अधा २०२६ को अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यूएई सरकारले नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिएको हो। मन्त्रालयले उक्त निर्णयप्रति यूएई सरकारप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई नेपाल-यूएईबीचको घनिष्ठ मित्रता र सुदृढ द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ।
मन्त्रालयका अनुसार आबुधाबीस्थित नेपाली दूतावासले मन्त्रालयको निर्देशनबमोजिम माफीका लागि गरेको अनुरोधपछि यूएई सरकारले उक्त निर्णय गरेको हो। आममाफी प्राप्त गरेका नेपालीहरूले यूएईको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन पाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।




