काठमाडौं । ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गर्दै गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा रक्षा मन्त्रालयका एक शिक्षा अधिकृत पक्राउ परेका छन्।
सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। उनलाई ललितपुर जिल्ला प्रहरी परिसरअन्तर्गत प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पीडित महिलाले सार्वजनिक स्थलमा भएको उक्त घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै भट्टको पहिचान गरी पक्राउ गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
हाल भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखिएको छ। उनीमाथि मुलुकी अपराध संहिता अन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




