काठमाडौँ – नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ रङ्गशालामा सम्पन्न अन्तिम १६ को प्रतिस्पर्धामा नर्वेले ब्राजिललाई २–१ ले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ७९औँ मिनेटमा एर्लिङ हालान्डले हेडमार्फत गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसपछि खेलको ९०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा ब्राजिलका नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको पहिलो हाफमै ब्राजिलले पेनाल्टीको अवसर पाए पनि ब्रुनो गिमारेसको प्रहार नर्वेका गोलरक्षक ओर्जान नाइल्यान्डले उत्कृष्ट बचाउ गरेका थिए। यो जितसँगै नर्वे इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम आठमा पुगेको छ। प्रतियोगितामा हालान्डले आफ्नो गोल संख्या सात पुर्याएका छन्। उता, पाँच पटकको विश्व विजेता ब्राजिल भने अन्तिम १६ बाटै बाहिरिएको छ।




