काठमाडौं – आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा लगानी विस्तारलाई तीव्रता दिइएको बताउँदै पर्यटन, उद्योग, ऊर्जा र पूर्वाधार क्षेत्रमा दीर्घकालीन परियोजना अघि बढाइएको जानकारी दिएका छन्। ढकालले लगानीलाई केवल व्यवसाय विस्तार नभई राष्ट्र निर्माणप्रतिको विश्वास र भविष्यप्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गर्दै आइएमई ग्रुपले विगत साढे तीन दशकदेखि नेपालको आर्थिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र समृद्धिमा निरन्तर योगदान दिँदै आएको उल्लेख गरेका छन्।
उनका अनुसार बैंकिङ, बीमा, रेमिट्यान्स, डिजिटल भुक्तानी, सूचना प्रविधि, पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, उत्पादनमूलक उद्योग, होटल, रिसोर्ट, पूर्वाधार तथा केबलकारलगायत विभिन्न क्षेत्रमा गरिएको लगानी सरकारको विकास प्राथमिकता, नागरिकको आवश्यकता र देशको दीर्घकालीन समृद्धिलाई केन्द्रमा राखेर गरिएको हो।
ढकालले सुदूरपश्चिम प्रदेशमा विकासको ठूलो सम्भावना भए पनि अपेक्षाकृत कम लगानी पुगेको उल्लेख गर्दै अहिले कैलालीको चिसापानीमा स्थानीय साझेदारसँगको सहकार्यमा निर्माणाधीन जालपादेवी केवलकार, पाँचतारे होटल तथा रिसोर्ट अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त परियोजनाले धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, होटल, यातायात, कृषि, हस्तकला तथा साना उद्यमलाई चलायमान बनाउने र हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास उनले व्यक्त गरेका छन्।
त्यसैगरी, बैतडीमा सिमेन्ट उद्योग स्थापना तथा बझाङमा जलविद्युत् आयोजना अघि बढाउने विषयमा आवश्यक अध्ययन र तयारी भइरहेको पनि उनले बताएका छन्। हालै कैलाली, अछाम, डडेलधुरा, बैतडी र बझाङको भ्रमणका क्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी, सरोकारवाला र समुदायसँग छलफल गर्ने अवसर मिलेको उल्लेख गर्दै ढकालले सुदूरपश्चिमको पर्यटन, उद्योग, ऊर्जा, कृषि र पूर्वाधार विकासका अपार सम्भावनाले आफूलाई थप उत्साहित बनाएको बताए।
उनले लगानी त्यहीँ पुग्ने उल्लेख गरे जहाँ सम्भावना, विश्वास, सहकार्य र सकारात्मक वातावरण हुने भन्दै निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट मात्रै रोजगारी, उद्यमशीलता र आर्थिक समृद्धिको आधार बलियो बन्ने धारणा राखे। सुदूरपश्चिमका राजनीतिक नेतृत्व, प्रदेश तथा स्थानीय सरकार, व्यवसायी र स्थानीय समुदायबाट प्राप्त सहयोग, विश्वास र आत्मीयताप्रति आभार व्यक्त गर्दै ढकालले नेपालका कुनै पनि भूगोललाई टाढा नठान्ने र जहाँ सम्भावना हुन्छ त्यहाँ दीर्घकालीन लगानी गर्ने आइएमई ग्रुपको प्रतिबद्धता दोहोर्याए। उहाँका अनुसार सुदूरपश्चिमसँगको आइएमई ग्रुपको सहयात्रा अब अझ व्यापक, गहिरो र अर्थपूर्ण बन्दै जानेछ।




