दार्चुला — नेपाली कांग्रेसका सभापति गगन थापाले दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका लागि धर्मानन्द जोशीलाई उम्मेदवार बनाएका छन्। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति थापाले जोशीलाई टिकट दिएका हुन्। कांग्रेस सभापतिबाट टिकट पाएको पुष्टि गर्दै जोशीले काठमाडौंबाट निर्वाचन क्षेत्र दार्चुलातर्फ प्रस्थान गरिसकेको जानकारी दिएका छन्। “सभापतिज्यूबाट उम्मेदवारीको जिम्मेवारी पाएको छु, अब दार्चुलाका जनतासँग प्रत्यक्ष संवादमा जुट्छु,” जोशीले बताए।
पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेपछि दार्चुलामा उम्मेदवार छनोटको प्रक्रिया अघि बढेको थियो। आइतबार जिल्ला कार्यसमितिले चार जनाको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो। सिफारिसमा धर्मानन्द जोशीसहित मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष नरेन्द्रसिंह धामी, नेविसंघका पूर्व अध्यक्ष गणेशराज भट्ट र कांग्रेसका पूर्व जिल्ला सचिव हरकसिंह बिष्ट रहेका थिए।
यसअघि जिल्ला कार्यसमितिले मंसिर अन्तिम साता दिलेन्द्रप्रसाद बडुको एकल नाम सिफारिस गरेको थियो। तर बडुले गत पुस २२ गते निर्वाचन नलड्ने घोषणा गरेपछि नयाँ उम्मेदवारको खोजी तीव्र बनेको थियो। संयुक्त राष्ट्रसंघ अन्तर्गतका विभिन्न निकायमा लामो समय काम गरेको अनुभवका आधारमा कांग्रेस सभापति थापाले जोशीलाई दार्चुलाको उम्मेदवार बनाएको कांग्रेस नेताहरूको भनाइ छ। जोशीले संयुक्त राष्ट्रसंघका राजनीतिक मिसन, मानव अधिकार, कानुन र द्वन्द्व व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अनुभव रहेको बताएका छन्। उनले निर्वाचन लड्नकै लागि संयुक्त राष्ट्रसंघबाट राजीनामा दिएर स्वदेश फर्किएको स्पष्ट पारेका छन्।
जोशीले निर्वाचन क्षेत्रको विकाससँगै मुलुकमा प्रभावकारी कानुन निर्माण र सुशासन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। “अन्तर्राष्ट्रिय क्षेत्रमा हासिल गरेको अनुभव अब दार्चुलाका जनताको सेवा र देशको हितमा प्रयोग गर्नेछु,” उनले भने।
संयुक्त राष्ट्रसंघको जिम्मेवारीबाट राजीनामा दिएर दार्चुलाका जनताबीच चुनावी मैदानमा उत्रिएका धर्मानन्द जोशीको उम्मेदवारीले जिल्लाको राजनीतिक माहोल थप तातेको छ। कांग्रेस समर्थकहरू जोशीको उम्मेदवारीलाई नयाँ आशा र विश्वासका रूपमा हेर्न थालेका छन्।





