काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला वरपरको सडक कालोपत्र तथा पानी व्यवस्थापनको काम अघि बढाउन निर्माण कम्पनी छनोट भएको छ। सडक डिभिजन कार्यालय काठमाडौंले शनिबार जारी गरेको सूचनाअनुसार नयाँयुग–मालिन्य जेभीले उक्त निर्माणको ठेक्का पाएको हो।
निर्माणका लागि ६ करोड ७४ लाख ८७ हजार रुपैयाँमा ठेक्का सम्झौता हुने भएको छ। सम्झौताअनुसार निर्माण कम्पनीले बढीमा ९० दिनभित्र सडकमा पानीको उचित निकास व्यवस्थापन गर्दै कालोपत्र गर्ने काम सम्पन्न गर्नुपर्नेछ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोधकुमार देवकोटाका अनुसार रंगशालामा नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएकाले निर्माण प्रक्रिया तीव्र बनाइएको हो। तिहार बिदासमेतलाई ध्यानमा राखेर तीन दिनको समय दिइएको र त्यसलगत्तै सम्झौता गरी काम सुरु गर्ने तयारी गरिएको उनले बताए।
देवकोटाले सम्झौता भएको मितिले ९० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्भव भएसम्म त्यसअघि नै निर्माण सक्ने प्रयास गरिने जानकारी दिए। उनका अनुसार कालोपत्र गर्नुअघि सडकमा पानी जम्ने तथा निकाससम्बन्धी समस्या समाधान गरिनेछ।
रंगशाला वरपरको सडक कच्ची हुँदा धूलो उड्ने समस्या देखिएपछि खेलाडी तथा नेपाल क्रिकेट संघबाट गुनासो आएको थियो। तत्कालका लागि पानी छर्किने व्यवस्था गरिएको भए पनि दीर्घकालीन समाधानका रूपमा सडक कालोपत्र गर्न लागिएको कार्यालयले जनाएको छ।
त्रिवि क्रिकेट मैदानमा अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सञ्चालन भइरहेको छ। प्रतियोगिताका क्रममा खेलाडी, दर्शक तथा आयोजकले सडकको अवस्थाका कारण असहजता भोग्नुपरेको छ। सडक सुधार भएपछि रंगशालामा आवतजावत सहज हुनुका साथै प्रतियोगिता सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशनकुमार सिंहले सडक कालोपत्र गर्ने प्रक्रिया अघि बढ्नु सकारात्मक भएको बताए। उनका अनुसार एनपीएल सुरु हुनुअघि सडक डिभिजन कार्यालयले सडकमा माटो तथा ग्राभेल राखेर तत्कालीन समस्या कम गर्ने प्रयास गरेको थियो।
सिंहले पानी व्यवस्थापनदेखि सडक कालोपत्रसम्मका काम सम्पन्न भए खेलाडी तथा दर्शकलाई सहज हुने र अन्तर्राष्ट्रिय खेलाडीमाझ नेपालको क्रिकेट पूर्वाधारप्रतिको सकारात्मक सन्देश जाने बताए।
नेपालले बंगलादेशसँग मिलेर पहिलो पटक यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ। आगामी जनवरी २३ अर्थात् माघ ९ गतेदेखि सुरु हुने प्रतियोगिताका अधिकांश खेल कीर्तिपुरस्थित यही मैदानमा आयोजना हुनेछन्।
महिला यू–१९ विश्वकपअघि नै सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का प्रक्रिया तीव्र बनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ। सडक सुधार र पानी निकासको उचित व्यवस्थापनले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न रंगशालाको समग्र वातावरण थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।





