काठमाडौं – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले गाईलाई पवित्र जनावरका रूपमा सम्मान गर्दै धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा रहिआएको छ।
हिन्दू धर्ममा गाईलाई गौमाताका रूपमा पुज्ने गरिन्छ। गाईको दूध आमाको दूधजत्तिकै पोषिलो हुने धार्मिक तथा सांस्कृतिक विश्वास छ। दूध, गोबर र गहुँत मानव जीवन तथा धार्मिक अनुष्ठानमा उपयोगी मानिने भएकाले गाईको विशेष महत्व रहेको छ।
धार्मिक मान्यताअनुसार गाईको विधिपूर्वक पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ। नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्ने परम्परा रहेको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक तथा पितृकार्यमा गाईदान गर्ने चलनसमेत छ। पछिल्लो समय गाई उपलब्ध नहुँदा सङ्कल्प गरेर त्यसको सट्टा रकम राख्ने परम्परा बढ्दै गएको छ।
गाईलाई नेपालमा राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईपूजाका दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने मान्यता छ।
यसरी धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको गाईपूजा तिहारको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।




