चितवन । चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरो खसेपछि सडकको दुवैतर्फ सवारी आवागमन ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान खसेको पहिरोका कारण मुग्लिन हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन रोकिएका छन्। यसअघि हिजो पनि सोही क्षेत्रमा पहिरो खसेको थियो। हिजोको पहिरो तत्काल पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि आज बिहान पुनः पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।
हाल पहिरो पन्छाउने काम सुरु गरिएको छ। नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका अनुसार पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ।
राजमार्ग अवरुद्ध भएपछि तिहार मनाउन घर जाने तथा काठमाडौं फर्किने यात्रुहरू प्रभावित भएका छन्। साथै, अन्य लामो तथा छोटो दूरीका सवारीसाधनसमेत सडकमा रोकिएका छन्।
पहिरो पन्छाउने काम सम्पन्न भएपछि मात्रै सडकमा सवारी आवागमन पुनः सञ्चालन हुने जनाइएको छ।





