कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्कीएमा

 

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्या पुग्नुभएको छ।

आजदेखि सुरु भएर मङ्सिर ४ गतेसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले आजै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनमा नेपालले जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण र जलवायु परिवर्तनका कारण उत्पन्न विपद्का विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। विशेषगरी भोटेकोशीलगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका कारण आएको बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट नेपाली नागरिकले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने नेपालको तयारी छ।

परराष्ट्रमन्त्री खनालले मङ्सिर २५ र २६ गते आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनुहुने कार्यक्रम छ। यसका अतिरिक्त उहाँले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा भाग लिनुका साथै अन्य देशका समकक्षी मन्त्री र विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

जलवायु परिवर्तनको असरबाट नेपालका हिमाली तथा पर्वतीय क्षेत्र बढी प्रभावित हुँदै गएका बेला कोप–३१ लाई नेपालले आफ्ना समस्या, चुनौती र प्राथमिकता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्न खोजेको छ।

परराष्ट्रमन्त्री खनाल कात्तिक २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्