चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको छ।
सुक्खा पहिरो खसेपछि बिहान ५ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग दिउँसोपछि खुलाइएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिरो हटाइएसँगै अहिले सडकको दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन्।
सडक अवरुद्ध हुँदा बिहानैदेखि राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको थियो। पहिरोका कारण काठमाडौं भित्रिने तथा बाहिरिने यात्रुहरू प्रभावित भएका थिए।
यसअघि पनि सोही क्षेत्रमा पहिरो खसेको थियो। लगातार पहिरो खस्ने क्रम जारी रहँदा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकले सास्ती भोग्नुपरेको छ।
राजमार्ग सञ्चालनमा आए पनि घोप्टेभीर क्षेत्रमा पहिरोको जोखिम रहेकाले यात्रु तथा सवारीचालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।





