सम्राको शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

 

काठमाडौं । युवराज सिंह सम्राको विस्फोटक शतकको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनले पराजित गरेको हो।

लगातार चार खेलमा हार बेहोरेको पोखराले पाँचौँ खेलमा जित निकाल्दै यस सिजन अंकको खाता खोलेको छ। पोखराले पाँच खेलबाट दुई अंक जोडेको छ। उता सुरुवाती दुई खेल जितेको कर्णालीको भने यो लगातार तेस्रो हार हो। कर्णाली पाँच खेलबाट चार अंकसहित तालिकाको छैटौँ स्थानमा छ।

पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। उनले ३० बलमा एक चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, ओपनर अरिफुल इस्लामले १३ बलमा दुई चौका र दुई छक्कासहित २४ रन जोडे। दीपक डुम्रेले सात बलमा एक चौका र तीन छक्काको मद्दतमा आक्रामक २२ रन बनाए भने कप्तान सोमपाल कामीले २१ रनको योगदान दिए। सूर्य तामाङले १३ रन बनाए।

कर्णालीका कप्तान सोमपाल कामी एनपीएलमा दुर्लभ मानिने ‘अब्स्ट्रक्टिङ द फिल्ड’ नियमअनुसार आउट भए। १५औँ ओभरको अन्तिम बलमा उनले बललाई दुई पटक प्रहार गरेपछि मैदान अवरोध गरेको आधारमा आउट दिइएको थियो।

कर्णालीका अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ओपनर जिशान आलम खाता नखोली आउट भए। मार्क वाटले आठ, डेभिड मिलरले सात, गुल्सन झाले दुई र नन्दन यादवले तीन रन बनाए। युवराज खत्री एक रनमा अविजित रहे।

कर्णालीको इनिङ्स ध्वस्त पार्ने क्रममा पोखराका धनञ्जय लक्ष्मणले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिए। त्यस्तै, लक्षण र कुशल भुर्तेलले दुई-दुई तथा विपिन खत्रीले एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको थियो। पोखराका लागि युवराज सिंह सम्राले यस सिजनको पहिलो शतक प्रहार गरे। उनले ४८ बलमा १० चौका र छ छक्कासहित १०२ रन बनाए। सम्राले ४५ बलमै शतक पूरा गरेका थिए।

कुशल भुर्तेलले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३९ बलमा सात छक्कासहित ६२ रन जोडे। सम्रा र भुर्तेलबीच दोस्रो विकेटका लागि १३६ रनको साझेदारी भएको थियो। यो साझेदारी एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी बनेको छ। यसअघि सन् २०२४ मा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।

यसैगरी, कप्तान चमिका करुणारत्नेले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित २५ रन बनाए। एनपीएलमा डेब्यु गरेका सन्नी विक तीन रनमा अविजित रहे। कर्णालीका कप्तान सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए।

पोखराले बनाएको २१७ रन यस सिजनको हालसम्मकै उच्च योगफल हो। एनपीएल इतिहासमा भने यो दोस्रो ठूलो योगफल हो। यसअघि सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किङ्सले पोखराविरुद्ध २२० रन बनाएको थियो।

यस जितसँगै पोखराले प्रतियोगितामा पुनरागमनको संकेत गरेको छ भने लगातार तीन हारपछि कर्णालीको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ। कर्णालीले अब साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्