‘कम ब्याक’ का लागि संघर्ष गर्दै अघिल्लो पुस्ताका हिरो, कोही बाबु बन्दै कोही निर्देशक

काठमाडौँ  –  कुनै समय नेपालमा भविष्य नदेखेर विदेश पलायन भएका हिरोहरु यतिबेला नेपाली चलचित्र उद्योगमा फर्कन संघर्षरत छन् । यसका लागि कोही निर्देश कबनेर कमब्याक गर्ने तयारी गरिरहेका छन् त कोही भूमिका परिवर्तन गरेर । यो सूचीमा राजेश हमाल, निखिल उप्रेती विराज भट्टदेखि राजबल्लभ कोइराला र जीवन लुइँटेलसम्म पनि समावेश छन् ।

सार्वजनिक जीवनमा चलचित्र उद्योगका सबैभन्दा ठूला स्टार हुन् राजेश हमाल । अहिले पनि उनी उभिँदा दर्शकको ताँती लाग्छ । तर अभिनेता हमाललाई दर्शकले ‘बागमती’पछि ठूलो पर्दामा देख्न पाएका छैनन् । त्यसयता बागमतीमा धेरै पानी बगिसकेको छ । यही बीचमा हमालमाथि महानायकदेखि अनेक विवाद निस्किएका छन् । यो क्रेजलाई पैसामा रुपान्तरण गर्न थुप्रै निर्माता निर्देशक ताते पनि हमालले नयाँ फिल्म खेल्न सकेका छैनन् । ‘सत्यम्’ भन्ने फिल्मको घोषणा भएर कार्यशालासमेत भएको थियो तर अन्तिममा यो फिल्म फ्लोरमा जानै सकेन । फेरि पनि राजेश हमालको कमब्याक अनिश्चित नै छ । निखिल उप्रेतीले करिब १० वर्षअघि ‘भैरव’ फिल्मबाट अभिनेतासँगै निर्देशकको रुपमा कमब्याक गर्ने प्रयास गरे । फिल्मको हाइप पनि राम्रै थियो । तर लामो समय मुम्बई बसेर फर्किएका निखिलले बदलिएका दर्शकको रुचि बुझ्नै सकेनन् । आफूले उद्योग छाड्दाको धङधङी छाड्न नसकेका उनले पुरानै ढर्रा छाडेका थिएनन् । यसले नयाँ पुस्ताका दर्शक फिल्म हेर्नै गएनन् । यसपछि उनले अभिनेताको रुपमा मात्र ‘रुद्र’ ‘पिंजडा ब्याक अगेन’ जस्ता चलचित्रमा काम गरे । तर यी कुनै पनि फिल्म दर्शकले रुचाएनन् ।

अहिले निखिल फेरि एक पटक निर्देशकको रुपमा आउने तयारी गरिरहेको समाचार छ । श्रोतका अनुसार निखिल अहिले परिवारलाई नै खेलाएर ‘गुगल मम’शीर्षकमा फिल्म बनाउने तयारी गरिरहेका छन् । अर्थात् कुनै समय एक सेड्युलमा तीन चारवटा फिल्म खेल्ने निखिललाई नेपाली चलचित्रमा कमब्याक गर्न सकस भइरहेको छ । निखिलझैँ कुनै समय व्यस्त रहने विराज भट्टको पनि अवस्था यही छ । नेपाली फिल्म चटक्क छाडेर भोजपुरी फिल्म खेल्न थालेका उनले पनि ‘जय परशुराम’मार्फत् दमदार कमब्याकको अपेक्षा गरेका थिए तर यो फिल्मले पनि अपेक्षित परिणाम दिएन । यसपछि विराज भट्ट आफैँ निर्देशक बनेर आफ्नो उद्धार गर्न तम्सिए । उनले अभिनयसँगै निर्देशन पनि गरेर ‘साङ्लो’ सार्वजनिक गरे । तर यो फिल्मले पनि स्टारडम फर्काउने उनको प्रयास सफल बनाउन सकेन ।

विराज भन्दा पहिला नै नेपाली चलचित्रमा डेब्यु गरेर धाक जमाएका रमित ढुंगाना पनि बीचैमा नेपाली चलचित्र उद्योग छाडेर अमेरिका हान्निएका थिए । बीचमा उनले ‘बुद्ध बर्न इन नेपाल’ चलचित्रमार्फत् कमब्याकको प्रयास गरे । तर फिल्मले न कसैको तािरफ पायो न दुई पैसा कमायो । रमित पनि अहिले निर्देशक बनेर कमब्याकको प्रयास गरिरहेका छन् । एसिड आक्रमण पीडित मुस्कान खातुनको जीवनीमा बन्ने सिनेमालाई रमित आफैँले निर्देशन गर्न लागेको चर्चा छ । रमितभन्दा सिनियर रमेश उप्रेती पनि भर्भराउँदो करिअर छाडेर अमेरिका हान्निएका थिए । अमेरिकाबाट फर्किएर उनले ‘ऐश्वर्य’ भन्ने सिनेमा निर्माण र अभिनय गरे । गीतले राम्रै चर्चा पाएको फिल्मले औसत व्यापार गर्दा पनि दोस्रो फिल्मका लागि भने उनलाई कसैले सम्झिएनन् । ‘ऐश्वर्य’ प्रदर्शन भएको जुग बितेपछि बल्ल रमेश उप्रेतीले ‘राजमहल’ भन्ने सिनेमा पाएका छन् ।

रमेश उप्रेतीको ठाउँ लिँदै उद्योगमा जमेका राजबल्लभ कोइराला र जीवन लुइँटेल पनि अहिले चलचित्र उद्योगमा फर्कन लालायित छन् । तर दुवैको चाहाना अझै पूरा हुन सकेको छैन ।  राजबल्लभले ‘कामिनो’बाट कमब्याक गर्ने हल्ला थियो तर यो फिल्म बन्दै नबने भएर प्रदीप खड्का अरु फिल्मतिर लागिसकेका छन् । अहिले फेरि राजबल्लभको नाम प्रदीप खड्काकै ‘एक्टर’ भन्ने फिल्ममा आइरहेको छ । सूत्रका अनुसार राजबल्लभ कोइराला यसमा आनाका पिताको भूमिकामा देखिँदैछन् । जीवन लुइँटेल पनि अब फिल्ममा फर्कन आतुर छन् । यसका लागि उनले आफू निकट निर्देशकहरुसँग हाइहेल्लो गर्न थालेका छन् । तर उनलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउने जोखिम लिने निर्माता– निर्देशक पाइन्छ भन्नेमा सायद जीवननै विश्वस्त नहोलान् ।

त्यसो त यहीँ बसेर संघर्ष गरिरहेका आर्यन सिग्देलको अवस्था पनि फरक छैन । आर्यनलाई लिन हानाथाप गर्ने निर्माताहरु अहिले सकभर उनको छेऊ पर्दैनन् । एकपछि अर्को फिल्म फ्लप हुँदै गएपछि आर्यन पनि यतिबेला कमब्याककै लागि संघर्ष गरिरहेका छन् ।
यसरी हेर्दा हिरोहरुलाई नेपाली चलचित्रमा कमब्याक गर्न सजिलो देखिएको छैन । एकाध फिल्ममा काम गरे पनि उनीहरुले पुराना दिन फर्काउन सक्छन् भन्ने सायद कसैलाई भरोसा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्