यस्तो छ मालिकार्जुन देवताको महिमा र इतिहास (भिडियो सहित)

काठमाडौँ – नयाँ पुस्ताले पर्यटकीय स्थलको रुपमा लिएको तथा पुर्खाहरुले धार्मिक आस्था राख्ने ठाँउको रुपमा चिनिने मालिकार्जुन मन्दिर लेकम गाउँपालिकाका थुप्रै स्थानमा रहिआएका छन् । राष्ट्रको सातौँ धाम मालिकार्जुन धामसँग जोडिएका यी मन्दिरहरु फरक फरक नामले चिनिदैँ आएका छन् । देवी देवताको अभिभावकको रुपमा चिनिने मालिकार्जुन सुरुमा लेकम प्रवेश गरेको भन्ने किम्बदन्ती रहि आएको छ । मालिकार्जूनले पूण्यभूमि लेकम गाउँपालिकाको वडा नंं ५ जाइझुलमा बासस्थान गरेको भनाइ रहि आएको छ । पछि मानवबस्तीसँग नजिक भएकोले बसाई सराई गरि मालिकार्जुन शिखरधुरा गएको भनाई प्रचलनमा रहि आएको छ ।

द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट सुन्न पाइन्छ । त्यहाँबाट कत्युर गडवाल, कुमाऊँ हुदैँ दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन पाइन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा मालिकार्जुन शिवलिंग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुंदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको लेकम–५ मा रहेको रिठा भन्नेठाउँमा वास बसेको श्रुति छ । त्यही शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ । मालिकार्जुन ज्योर्तिलिंग स्थायी वासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ ।

आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । उनका अन्य साथिहरू प्रभुको ज्योर्तिलिगंको खोजीका क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए तर, कहि कतै पनि उनीहरूले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिगं नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए । सपनामा अभयराज पाण्डेयलाई प्रभुले भन्नु भएछ, ‘तिमी चिन्ता नगर त्यहाँ डिडेकोटमा बस्ने डिङे राजाले दैनिक पशुबली गरेर त्यहाँको वातावरण अनि मलाई समेत दुषित बनाउने काम गर्न थाल्यो, उसको कोट उचाईमा छ र रिठामा बस्दा म चाहि गहिराइमा परे त्यसो भएको हुनाले मैले स्थायी रूपमा बास बस्ने योग्य र उचित ठाउँ शिखर पर्वत भेट्टाएको छु, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको सुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्ने र बाघले तिमीलाई म कहाँ पुर्याउने छ ।’ त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनिमा भने जस्तै उसको अगाडि प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ । बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि–पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पुर्याउछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउछन् ।

अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले वाणि सुन्छ । महाराज मालिकार्जुनले अभयराजलाई भन्नुभयो, हे भक्तराज मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’ अरु भक्तहरूलाई पनि यही आउन भनि दिनु भन्दै आकाश वाणि बन्द हुन्छ ।

मालिकार्जुन विराजमान भएको शिखर पर्वतमा पौराणिककालदेखी हरेक वर्ष आषाढ शुक्ल चतुर्दसी र कार्तिक शुक्ल त्रियोदसीका दिन विधि विधान बमोजिम पुजा अर्थात पुजन, दर्शन गरिन्छ । विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले विघ्न वाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने कुरामा शतप्रतिसत विश्वास गरिन्छ । मालिकार्जुनको रानी शोभाश्री मन्दिरको रुपमा उचाकोट मन्दिरलाई लिने गरिन्छ । यस मन्दिरमा कार्तिक शुक्ल चर्तुदशीका दिन भव्य जात्रा लाग्ने गर्दछ । यस्तै लेकम गाउँपालिकाको गाराडी, मैखोली र पातीमा पनि मालिकार्जूनको मन्दिर रहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्