चौतारा साँगाचोकगढी नगरले ग¥यो निःशुल्क मास्क वितरण

सुशील सुवेदी 

सिन्धुपाल्चोक – कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले नगरक्षेत्रभरि निःशुल्क मास्क वितरण सुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १२ हजार २ सय निःशुल्क मास्क वितरण गरेको हो ।

नगरपालिकाले बुधबार नगरभित्रका वडा नं. ८ मा १ हजार, वडा नं. ५ मा २ हजार र ११ स्वास्थ्य संस्थामा २ सयका दरले निःशुल्क मास्क वितरण गरेको छ । बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो । ‘देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै नगरबासीलाई मास्क वितरण गरेका हौं,’ चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए ।

मास्कसँगै नगरभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिसमेत वितरण गरिएको छ । नगर स्वास्थ्य शाखाको समन्वयमा औषधीञ वितरण गरिएको संयोजक शिव पुरीले बताए । त्यस्तै नगरपालिकाले आफ्ना नागरिकलाई भीडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्न समेत अनुरोध गरेको छ । बजारमा मास्कको संकट भएका बेला नगरले वितरण गरेको मास्क अभियानले राहत प्रदान गरेको चौतारा साँगाचोकगढी नगरपालिका– ५ का वडाध्यक्ष नरमान श्रेष्ठले बताए ।

नगरले विहीबार पनि मास्क वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ । ५ वटा वडा र सो वडा भित्रका स्वास्थ्य संस्थामा मास्क र औषधी वितरण गरिने नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्