भारतीय प्रधानमन्त्री मोदीले गरेको प्रस्तावमा पाकिस्तानको पनि समर्थन

Pakistan's Prime Minister Imran Khan, speaks to the nation in his first televised address in Islamabad, Pakistan August 19, 2018. Press Information Department (PID)/Handout via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. NO RESALES. NO ARCHIVES. - RC1D162F3450

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीविरुद्ध लड्न सार्क राष्ट्रहरुबीच साझा रणनीति बनाउन गरेको प्रस्तावलाई पाकिस्तानले पनि समर्थन गरेको छ ।

मोदीले त्यसका लागि भिडियो शुक्रबार ट्विटमार्फत् सार्क मुलुकका नागरिकहरुलाई स्वास्थ राख्नका लागि आपसमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने उल्लेख गरेका थिए।

मोदीको प्रस्तावको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुखीले शनिबार मध्यान्ह ट्विट गर्दै पाकिस्तानले पनि त्यसलाई समर्थन गर्ने र भिडियो कन्फरेन्समा भाग लिने जनाएकी छन्। ‘कोभिड–१९ को चुनौतीसँग लड्न क्षेत्रीय र विश्वव्यापी समन्वयको आवश्यकता छ। त्यसैले हाम्रा तर्फबाट पाकिस्तानी प्रधानमन्त्रीका सहायक स्वास्थ्य विज्ञ जाफर मिर्जाले भिडियो कन्फरेन्समा भाग लिने कुरा जानकारी गराइसकेका छौं,’ मिर्जाले ट्विटमा उल्लेख गरेकी छिन्। यसैबीच भारतीय सञ्चारमाध्यमहरुले मोदीले प्रस्ताव गरेको भिडियो कन्फरेन्स आइतबार साँझ हुने तय भएको जनाएका छन्।

पाकिस्तानले सिमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै त्यो नरोकिए सम्म दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढ्न नसक्ने बताउँदै आएको भारतले विश्वव्यापी रुप लिएको कोरोना महामारी विरुद्ध लड्न सार्क सदस्यहरुबीच साझा रणनीति बनाउन प्रस्ताव गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको रुप लिएको कोरोनाविरुद्ध लड्न त्यस्तो साझा रणनीतिको प्रस्ताव गरेका थिए। ‘सार्क मुलुकहरुलाई कोरोना विरुद्ध लड्न एउटा बलियो साझा रणनीति बनाउन प्रस्ताव गर्छु,’ शुक्रबार ट्विट गर्दै मोदीले भनेका थिए।

‘सबै मिलेर स्वास्थ ग्रह निर्माणमा योगदान गरेर विश्वसामु उदाहरण पेश गर्न सक्छौं’ मोदीले लेखेका छन्। त्यसैगरी उनले पुरै विश्व कोरोना भाइरसविरुद्ध लडिरहेको र यसमाथि नियन्त्रण पाउन विभिन्न तहमा सरकार तथा जनताले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको समेत जनाएका छन्। विश्वको ठूलो जनसंख्याको घर दक्षिण एसियाले आफ्ना नागरिकहरुलाई विश्वस्त बनाउन कुनै पनि कमै छाड्न नहुने पनि मोदीले उल्लेख गरेका छन्।

मोदीको पछिल्लो प्रस्तावलाई नेपाललाई लगायत अधिकांश सार्कका सबै सदस्य राष्ट्रहरुले स्वागत गरिसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसविरुद्ध सार्क मुलुक मिलेर लड्ने भारतीय समकक्षी मोदीको प्रस्ताव स्वागत गरेका छन्। दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरिरहेका ओलीले ट्विट गर्दै नेपाल सरकार आफ्ना नागरिकलाई महामारीबाट बचाउन सार्कको सदस्य राष्ट्रको हैसियतले मिलेर काम गर्ने प्रष्ट्याएका छन्। ‘नेपाल सरकार आफ्ना नागरिकहरुलाई यो खतरनाक महामारीबाट जोगाउन सार्क सदस्यहरुसँग मिलेर काम गर्न तयार गर्छ’ ओलीले भनेका थिए।

भारत र पाकिस्तानबीच विगत केही वर्षयता कायम रहेको कटुतापूर्ण सम्बन्धका कारण सार्क निश्क्रिय झैं बन्न पुगेको परिप्रेक्ष्यमा मोदीको पछिल्लो प्रस्तावलाई विशेष चासोका साथ हेरिएको छ। पाकिस्तानसँगको सम्बन्धकै कारण भारतले सार्कप्रति बेवास्ता गर्दै आएको छ। जसले गर्दा निर्धा्रित मिति गुज्रिएको तीन वर्ष बितिसक्दा पनि सार्कको १९ औं शिखर सम्मेलन कहिले हुन्छ भन्ने निश्चित हुन सकेको छैन। यो पृष्ठभूमिमा मोदीको पछिल्लो प्रस्तावलाई केही विश्लेषकहरुले सार्कको पुर्नजीवनका रुपमा अर्थ्याएका छन् भने केहीले भने यसलाई दक्षिण एसियामा बढ्दो कोरोना महामारीको त्रासको सन्दर्भमा हेर्नुपर्ने दाबी गरेका छन्।

पुसको दोस्रो साता चीनको उहानबाट सुरु भएर विश्वका १ सय ४० भन्दा बढी देशलाई आफ्नो चपेटामा लिइसकेको कोरानाको संक्रमण सार्क मुलुकहरुमा पनि क्रमशः बढ्दो छ। शनिबारसम्ममा भारतमा मात्र ८२ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने तीन जना उपचारपछि निको भइसकेका छन्।

यसबाहेक पाकिस्तानमा पनि एक जनाको मृत्यु भएको छ। हालसम्म पाकिस्तानमा २९, अफगानिस्तानमा ९, बंग्लादेशमा ३, माल्दिभ्समा दुई, श्रीलंकाकामा दुई, भुटान र नेपालमा एक एक जनामा कोरोना पुष्टि भएको छ। र, विगत केही दिन यता दक्षिण एसियाका भारत र पाकिस्तान लगायतका मुलुकमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्