एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने सरकारकाे निर्णय

सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो । डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन् ।

एसईई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति रहने व्यवस्था छ । उक्त समितिले हेल्थ डेस्क स्थापना र सञ्चालन गरिनेछ । शिक्षा मन्त्रालयले स्वास्थ्यकर्मीसहितको डेस्क स्थापनाका लागि स्वास्थ्य मन्त्रालयलाई यसअघि नै आग्रह गरिसकेको थियो । त्यसका लागि स्वास्थ्य मन्त्रालयलाई समेत परीक्षा केन्द्रको सूची उपलब्ध गराइसकेको छ । मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । यसवर्ष ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

त्यस्तै यी दुई मन्त्रालयले स्थानीय तहहरूमा कोराना भाइरससम्बन्धी जनचेतना फैलाउन स्वयम्सेवक परिचालन गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्