भारतले नेपालसँगका केही प्रमुख नाकाहरुमात्रै खुला राख्‍ने, आपूर्तिमा कुनै असर नपर्ने

भारतले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै नेपालसँगका केही प्रमुख नाकाहरुमात्रै खुला राख्‍ने निर्णय गरेको छ । बुधबार भारतको गृह मन्त्रालयले दुई देशका नागरिकहरु ओहोरदोहोर गर्नका लागि वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो ।

यसबाहेकका नाकाहरुबाट मानिसहरुको आवतजावत तत्कालका लागि बन्द गरिएको छ। तर, कार्गो (सामान) को ढुवानी भने यसअघिकै व्यवस्थाअनुसार सबै नाकाबाट सुचारु रहनेछ। भारत सरकारको पछिल्लो निर्णयमा खुला राखिएका नाकाहरुमा पनि मानिसहरुको बृहत् स्वास्थ्य परीक्षण भने हुने जनाइएको छ। यदि कुनै व्यक्तिले पछिल्लो समयमा इटाली, इरान, स्पेन, जर्मनी र दक्षिण कोरियाको गएको पाइएमा राज्य तथा केन्द्र सरकारले तोकेको स्वास्थ्य सुविधाभित्र क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि भारतले गरेको छ।

चार नाकाहरुबाट मानिसहरुको आवातजावत खुला राख्ने भारतको पछिल्लो निर्णयले रोजगारी लगायत कामका लागि भारत आउने नेपालीहरु प्रत्यक्ष प्रभावित हुनेछन्। विशेषगरी तराईका ग्रामीण भेगका साना नाकाहरु प्रयोग गर्दै आएकालाई बढी असर पार्नेछ। नेपाल–भारतका १७५१ किलोमिटर खुला सीमामा औपचारिक रुपमा करिब दुई दर्जन नाका सञ्चालनमा छन्। जसमध्ये आधा दर्जन प्रमुख नाका पर्छन्।

भारतको निर्णयले विराटनगर र नेपालगन्ज नाकाबाट आवातजावत गर्नेहरुलाई भने समस्या पर्ने भएको छ। किनभने यी दुई नाका पनि नेपाल र भारतबीच सञ्चालनमा रहेका नाकाहरुमध्ये प्रमुख मानिन्छन्। विशेषगरी भारतका विभिन्न ठाउँमा काम गर्न र अन्य प्रयोजनका लागि ओहोरदोहोर गर्न आउने मध्यपश्चिमका नेपालीहरुले नेपालगन्ज नाका प्रयोग गर्छन्।

त्यसैगरी विराटनगर नाका पनि चल्तीको नाकामा पर्छ। तर, भारतले यी दुई नाकाबाट मानिसहरुको ओहोरदोहर तत्कालका लागि बन्द गरेको छ। तर, दिल्लीस्थित दूतावासका एक अधिकारीले नेपालगन्ज र विराटनगर नाकाबाट पनि सर्वसाधारणका लागि खुला गराउन पहल भइरहेको बताए। ‘यी दुई नाका बन्द गर्दा सर्वसाधारणलाई पर्ने असरबारे हामीले भारतीय पक्षलाई जानकारी गराइसकेका छौं र खुलाउनका लागि आवश्यक पहल पनि सुरु भइसकेको छ’ ती अधिकारीले भने। साथै उनले कार्गोको ढुवानीका लागि पहिलेकै हिसाबले सबै नाकाहरु खुला रहेको हुँदा आपूर्ति व्यवस्थामा कुनै असर नपर्ने समेत बताए।

त्यसो त अघिल्लो साता नेपाल सरकारले पनि कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भारतसँगका नाकाहरु बन्द गर्ने निर्णय गर्न सकिने जनाएको थियो। गत बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँगका नाकाहरुमा कडाई गर्ने संकेत गरेको थियो। ‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु सीमित गरिनेछ,’ सूचनामा भनिएको थियो।

सूचनामा भनिए जस्तो पर्याप्त स्वास्थ्य परीक्षण सुविधा केही ठूला नाकाहरुमा मात्र उपलब्ध भएको हुँदा भारतले अन्य साना नाकाहरु बन्द गर्ने सम्भावना रहेको दिल्ली दूतावासका नेपाली अधिकारीहरुले पनि बताएका थिए।

भारतले कोरोना महामारीबाट बच्‍न नेपालका अतिरिक्त भुटानको सीमामा पनि कडाई गरेको छ।भुटानसँग पनि भारतको खुला सीमा रहेको छ। आइतबारदेखि दरङ्गा र जयगाउँ नाकामात्र खुला राख्ने निर्णय गरिएको छ।

भारतले म्यानमारसँगको सीमा गत मंगलबारदेखि नै बन्द गरिसकेको छ। भारतले गत बुधबार नै विदेशी नागरिकलाई भारत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।

गत बुधबार बसेको उच्च अधिकारीहरुको बैठकले शुक्रबार १२ बजेदेखि लागू हुने गरी विदेशीहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। त्यतिबेला तेस्रो मुलुकका नागरिकहरुलाई हवाईमार्ग हुँदै आउन रोक लगाए पनि भारतले नेपालीहरुका लागि भने रोक लगाएको थिएन। तर, हवाईमार्ग हुँदै भारत आउने नेपालीहरुमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमणको शंका भएकोमा १४ दिनको क्‍वारेन्टाइनमा भनेअनिवार्य बस्‍नुपर्ने हुन्छ।

कान्तिपुर अनलाइनकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्