दार्चुलाको मालिकार्जुन सहित २ गाउँपालिकालाई दियो भारतले एम्बुलेन्स

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिका र दुहुँ गाउँपालिकालाई भारतीय राजदूतावासले एम्बुलेन्स उपलब्ध गराएको छ ।

आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा काठमाडौँस्थित भारतीय राजदूतावासले विभिन्न सङ्घ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको थियो ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले एक समारोहका बिच मालिकाजुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी र दुहुँ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण सिह लोथ्याललाई एम्बुलेन्स हस्तान्तरण गरेको हुन् ।

यो भन्दा पहिले भारतीय राजदूतावसले जिल्लाको महाकाली नगरपालिका लेकम गाउँपालिका तथा व्यासँ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ । भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा यो सहयोग प्रदान गरिएको हो । भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा रहेका संस्थाहरूलाई नौ सय ४० वटा एम्बुलेन्स र एक सय ८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्